प्रेम चलाउनेलाई न्याय दिन र पीडकलाई दण्डित गर्न सरकारसँग रास्वपाकाे माग

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा खेपिरहेका नेविसंघका कार्यकर्ताहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले उपप्राध्यापक चलाउनेलाई न्याय दिन र पीडिक नेविसंघका विद्यार्थीहरूलाई दण्डित गर्न पनि सरकारसँग माग गरे।

उनले त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका उपप्राध्यापक चलाउनेलाई विश्वविद्यालय परिसरमै मरनासन्न हुने गरी कुटपीट गर्नेहरूलाई कडाभन्दा कडा कारबाही गर्नुको सट्टा उनीहरुमाथि लगाइएको मुद्दासमेत फिर्ता लिने काम गरेर सरकारले अन्याय गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन्।

प्रमुख सचेतक परियारले शैक्षिक संस्थाहरु शान्ति क्षेत्र हुने मान्यतालाई समेत तिलाञ्जली दिने काम गरेका नेविसंघका ती विद्यार्थीहरूमाथि लगाइएको ज्यान मार्ने उद्योग अन्तरगतको मुद्दा सरकारले फिर्ता लिन नमिल्ने जिकीरसमेत गरे।

प्रतिक्रिया