संसदमा एमालेले माओवादी विद्रोहलाई हिंसा भनेकोमा प्रचण्डको आपत्ति

पार्टीको नेतृत्व तत्काल नफेरिने माओवादी अध्यक्ष दाहालको भनाइ

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र नेतृत्व हस्तान्तरको विषयमा तत्काल छलफल चलाउन उपयुक्त नहुने बताएका छन् । पार्टीको आन्तरिक छलफलमा भाग लिन सुर्खेत पुगेका दाहालले पत्रकारसँग कुरा गर्दै पार्टीभित्र नेतृत्व गर्ने अर्को टिम नबनिसकेकाले आफूले हस्तान्तरण गर्ने विषय तत्काल उपयुक्त नहुने बताएका हुन् । पार्टीभित्र राम्रो टिम बनेपछि आफू अध्यक्षको जिम्मेबारीबाट अलग भएर कुनै महत्वपूर्ण भूमिका निर्वाह गर्ने सोचेको उनले बताए । 
अध्यक्ष दाहालले उमेरले ७० वर्ष कट्न लागेको भन्दै सँधै नेतृत्वमा रहिरहने  इच्छा नभएको उल्लेख गरे । एमाले सांसद्हरुले सदनमै हिंसा शब्द प्रयोग गर्नुलाई जायज मान्न नसकिने भन्दै उनले संविधानमा नै जनयुद्ध शब्द प्रयोग भएको बताए । माओवादी केन्द्र फुट्छ भन्ने हल्ला डिजाइन गरेर बाहिर ल्याईएको उनको भनाइ छ । पार्टीभित्र भएका छलफल र बहसलाई गलत प्रचार गरेर पार्टी फुट्ने हल्ला फिजाईएको गुनासो दाहालले गरे । माओवादीले सरकारबाट बाहिर रहेका बेला पनि देशको जटिल परिस्थिति सुधार्न सकारात्मक भूमिका खेलिरहेको दाबी समेत उनले गरे । भष्टाचारीलाई जोगाउनकै लागि सरकार परिवर्तन भएको र सो तथ्य पुष्टि हुँदै गएको दाबी गर्दै उनले गलत कार्य गर्नेलाई माओवादी केन्द्रले नछाड्ने चेतावनी समेत दिए । 
 

प्रतिक्रिया