हरेक निकायका अधिकारीले आफ्नो कामको विवरण दिन सामाजिक सञ्जालहरूमा पेज बनाउनु : प्रधानमन्त्री

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक निकायका अधिकारीले आफ्नो कामको विवरण दिने गरी सामाजिक सञ्जालहरूमा पेज बनाउनुपर्ने बताएका छन् । 

शुक्रबार बिहान सामाजिक सञ्जालमा उनले हरेक निकायका अधिकारीलाई आफ्नो निकायको कामप्रति जवाफदेही बनाउने, तत्काल गुनासो सुन्ने र समाधान गर्ने प्रणाली बनाउन हरेक निकायका अधिकारीले सार्वजनिक रूपमा सुनुवाइ गर्न मिल्ने गरी सामाजिक सञ्जालमा आ–आफ्नो कामको विवरण दिने पेज बनाउन भनेका हुन् । 

सार्वजनिक सेवा प्रवाहमा हुने ढिलासुस्तीको सम्बन्धित अधिकारीले तत्काल जवाफ दिन यसले सहयोग पुर्‍याउने ओलीको भनाइ छ । सवारीचालक अनुमतिका लागि, अस्पतालमा सेवा लिन, नागरिकता, पासपोर्ट लिन किन लाइन बस्नुपर्छ ? विकास निर्माणका आयोजनाहरू किन ढिलाइ भइरहेका छन् भन्ने सेवाग्राहीले जवाफ पाउनुपर्ने प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । 

सार्वजनिक सेवामा सम्बन्धित अधिकारीले तत्काल जवाफ दिने र सम्बोधन गर्ने प्रणाली विकास गर्न यसले सहयोग पुग्ने उनको विश्वास छ ।

प्रतिक्रिया