आज ८ वटा  संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज (शुक्रबार) ८ वटा संसदीय समितिको बैठक बस्दै छ ।

बिहान ९ बजे बस्ने अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । 

बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ मा सैद्धान्तिक छलफल हुनेछ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठक पनि बिहान साढे ११ बजे बस्नेछ । बैठकमा तयारी पोसाक निर्यातमा देखिएका नीतिगत समस्याका सम्बन्धमा नेपाल तयारी पोसाक उद्योग संघका प्रतिनिधिहरूसँग छलफल हुनेछ ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा समितिको कार्यविधि पारित गर्ने र समितिको वार्षिक कार्यतालिकाका विषयमा छलफल हुनेछ । संसदीय सुनुवाइ समितिको बैठक पनि आज बस्दै छ । दिउसो एक बजे बस्ने बैठकमा राजदूतमाथिको उजुरीबारे छलफल हुनेछ । 

त्यसैगरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो २ बजे बस्दै छ । बैठकमा वन तथा वातावरण मन्त्रालयबाट यस आर्थिक वर्षमा सम्पादन हुने कार्यक्रम, कार्यसम्पादनमा रहेका समस्या र मन्त्रालयको बजेटका विषयमा छलफल हुनेछ । 

दिउँसो ३ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा उपसमितिको प्रतिवेदन पेस गरी त्यसमा छलफल हुनेछ ।  

प्रतिक्रिया