युवा जनशक्तिलाई मुलुकमा टिकाउने गरी काम गर्नुपर्छ : मन्त्री भट्टराई

ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले युवा जनशक्तिलाई मुलुकमा टिकाउने गरी काम गर्नुपर्ने बताएकी छन् । 

नाडा अटोमोवाइल्स एशोसियशन अफ नेपाल, होटल एशोसियशन नेपाल र नेपाल उद्योग परिसङ्घले संयुक्तरूपमा बिहीबार ललितपुरमा आयोजना गरेको शिक्षा र रोजगारी सम्बन्धमा राष्ट्रिय गोष्ठीमा मन्त्री भट्टराईले नेपालले अन्तर्राष्ट्रिय श्रम बजारमा पठाउने जनशक्तिको मात्रै विकास गरेकाले शिक्षासँग उद्यमशील र श्रमको समन्वय नहुँदा युवा पलायन हुने समस्या भएको बताइन् । 

मन्त्री भट्टराईले शिक्षा मन्त्रालयले बनाउने पाठ्यक्रममा ज्ञान, सीप र कलालाई श्रम तथा समाजसँग जोड्ने गरी निर्माण गरिनुपर्ने उल्लेख गर्दै सरकार त्यसतर्फ ध्यान दिएर अगाडि बढेको धारणा राखे। उनले शिक्षा, उद्योग र श्रम मन्त्रालयबीच सहकार्य र समन्वय गरी काम गर्ने बताइन् । उनले व्यावसायिक शिक्षा प्रदान गर्ने अभिप्रायले २०४५ सालमा स्थापित सिटिइभिटीको पुनःसस्थापना गरिनुपर्नेमा जोड दिइन्  । 


सिटिइभिटीका सदस्य सचिव महेश भट्टराईले विश्वलाई उपयोगी हुने व्यावसायिक शिक्षा सिटिइभिटीले काठमाडौँको बालाजु र दोलखाको जिरीमा सञ्चालन गरिरहेको बताए । उनले उद्योगको आवश्यकता अनुसारको जनशक्ति तयार गर्न पाठ्यक्रम विकास गरेर लागू गर्न सकिने बताए । 

नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालका अध्यक्ष करण चौधरीले कुनै पनि व्यवसाय र संस्था सञ्चालन गर्न जनशक्ति बलियो हुनुपर्ने भन्दै अटोमोबाइल क्षेत्रका धेरै जनशक्ति पलायनको समस्याले धेरै यस क्षेत्रमा चुनौती थपिएको बताए । 

होटल एशोसिएशन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाहले समर्पण र क्षमता प्रदर्शन गर्न सक्ने दक्ष जनशक्तिको आवश्यकता होटल क्षेत्रमा रहेको  बताए । उनले उद्योग व्यवसायको आवश्यकता अनुसारको दक्ष जनशक्ति तयार गर्न नवीन सोच र नवप्रवर्तनका काममा सहकार्य गर्न सिटिइभिटीलाई आग्रह गरे । 

नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्योग व्यवसायमा आवश्यक सीपयुक्त दक्ष जनशक्तिको परिपूर्ति गर्न तालिम तथा रोजगारमूलक प्रशिक्षण दिएर सीप परीक्षण गरिनुपर्नेमा जोड दिए । 

प्रतिक्रिया