हुलाकी सडक निर्माणलाई गति दिन राष्ट्रियसभा सांसदहरुको माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा सांसद आनन्दप्रसाद ढुङ्गानाले हुलाकी सडकलाई तराई मधेसको लाइफलाइन मानिए पनि निर्माणमा भइरहेको ढिलाइप्रति गुनासो गरेका छन् । उनले सो आयोजनामा देखिएको समस्या समाधान गरी तत्काल निर्माण कार्यमा गति दिन सरकारको ध्यानाकर्षण गराएका छन् । 

सांसद डा. अञ्जान शाक्यले धुलिखेलमा ८४ वर्षीय वृद्ध भिक्षुमाथि साङ्घातिक आक्रमण भएको उल्लेख गर्दै दोषीमाथि कारबाहीको माग गरे  । उनले ती भिक्षुलाई सुनोयिजित रुपमा लुटपाट गर्नेगरी आक्रमण भएको तथा उक्त घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरे ।

सांसद वामदेव गौतमले नेपालको भौगर्भिक अवस्थाको अध्ययन नगरी सडक निर्माण गरिएकाले दुर्घटना बढ्दै गएको बताए। उनले वस्तुनिष्ठ योजना बनाई प्रभावकारी अध्ययन गरेर मात्रै सडक निर्माण गर्न सुझाव दिए । 

सांसद भुवनबहादुर सुनारले पछिल्लो समय महिला हिंसाका घटनामा वृद्धि भएकाले दोषीमाथि कारबाहीको माग गरे। उनले अन्तरजातीय प्रेम सम्बन्धका कारण म्याग्दीकी १९ वर्षीया युवतीको हत्या भएको उदाहरण दिँदै उक्त घटनामा संलग्न अपराधीलाई कारबाही गर्न सरकारसँग माग गरे । 

प्रतिक्रिया