नेपालमा बंगलादेश जस्तै हुन्छ भन्ने अभिव्यक्तिमा आत्मसमीक्षा गर्न प्रचण्डलाइ गगनको सुझाव

काठमाडौ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आवेग र उत्तेजनताको राजनीति नगर्न सुझाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रचण्डले देश बंगलादेश वा श्रीलंकाजस्तो होला भनेको विषयमा आत्मसमीक्षा गर्नुपर्ने बताए ।

प्रचण्डले देश बंगलादेश, श्रीलंका होला भन्दा आफूलाई असह्य भएको उल्लेख गर्दै उनले भने, ‘धर्म–पापमा विश्वास नगर्ने भएकाले श्राप दिएको त पक्कै होइन होला ! तर्साउन खोज्नु भएको होला।’

सरकारमाथि प्रश्न उठाउनु प्रतिपक्षको मुख्य काम नै भएको उनले बताए । तर, प्रचण्डले बोल्ने क्रममा बंगलादेश र श्रीलंकाको उदाहरण दिँदै सरकारलाई चेतावनी दिएकोप्रति आपत्ति जनाए ।

उनले भने, ‘प्रतिपक्षमा बस्दै गर्दा पनि सिस्टमको अपोजिसन होइन, सरकारको मात्रै अपोजिसन हो । सरकारले पनि त्यसको सम्मान गर्नुपर्छ, गरि पनि रहेको छ । गरेन भने हामी छौं । विपक्ष दलको जिम्मेवारी जसले लिएको छ त्यसले पनि सोच्नुपर्छ । एकछिनको लाभ र अन्तरविरोधमा खेल्नको लागि यतिधेरै पनि बरालिनुहुन्न कि आफूले लगाएको आगोले आफैंलाई पोल्नसक्छ । आफैंलाई जलाउन सक्छ, बाल्न सजिलो छ, निभाउन गाह्रो छ ।’
आफ्नो विषय ठिक छन् भने लडेर सरकारलाई घुँटा टेकाउनु पनि अवान्छित नहुने उल्लेख गर्दै थापाले प्रतिपक्षी दल सरकारको प्रतिपक्षी भए पनि राज्य र प्रणालीकै अंग भएको स्मरण गराए।
 

प्रतिक्रिया