उद्योगमन्त्री भण्डारीद्वारा मन्त्रालयको सुधार कार्ययोजना तयार

काठमाडौं ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयको सुधार कार्ययोजना तयार गरेका छन् ।  

उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा विद्यमान समस्या तथा चुनौतीलाई सम्बोधन गर्दै सेवा प्रवाहलाई सरलीकरण गर्ने, स्वचालित प्रणाली अबलम्बन गर्ने, औद्योगिक सम्बन्ध सुमधुर बनाउने, व्यावसायिक लागत घटाउने, उत्पादन वृद्धि गर्ने, निर्यात प्रवद्र्धन गर्ने, व्यापार घाटा न्यूनीकरण गर्ने, औद्योगिक तथा व्यापारिक पूर्वाधारको निर्माण तथा उचित व्यवस्थापन गर्ने, उपभोक्ता हित संरक्षण र आपूर्ति व्यवस्था दुरुस्त बनाइ बजारलाई प्रतिस्पर्धी बनाउने कार्य योजनावद्ध ढङ्गले अघि बढाउन योजना बनाइएको मन्त्री भण्डारीले राससलाई बताए । 

यसै सन्दर्भमा मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवालाई समेत समेट्दै समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान पुर्‍याउन सुधार कार्ययोजना तयार गरिएको उनले जानकारी दिए । 

कार्ययोजनामा निजी क्षेत्रका छाता सङ्गठन, प्राज्ञिक क्षेत्र, ‘स्टार्ट अप’हरू, उपभोक्ता अधिकारकर्मी, पूर्वमन्त्री, पूर्वसचिवलगायत सम्बन्धित सरोकारवालासँग मन्त्रालयले विभिन्न चरणमा छलफल गरी प्राप्त सुझावलाई समावेश गरेको जनाइएको छ । 

कार्ययोजनामा उद्योग क्षेत्रका १४ सुधारका क्षेत्रमा विभिन्न क्रियाकलापलाई समावेश गरिएको छ । त्यसमा २२ नीतिगत तथा कानुनी विषय, छ पूर्वाधार निर्माणका विषय, पाँच खानी तथा खनिज उद्योग प्रवद्र्धनका विषय, चार औद्योगिक वस्तुको गुणस्तर निर्धारण सम्बन्धी विषय लगायतका ६४ मुख्य मुख्य क्रियाकलाप समेटिएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।

त्यसैगरी, वाणिज्य क्षेत्रका द्विपक्षीय व्यापार, क्षेत्रीय व्यापार, बहुपक्षीय व्यापार तथा व्यापार सहायता क्षेत्र र व्यापार सहजीकरण एवं निर्यात प्रवद्धन तर्फका २४ सुधारका क्षेत्र पहिचान गरी ४८ मुख्य मुख्य क्रियाकलाप समेटिएको छ । साथै आपूर्ति क्षेत्रका १६ सुधारका क्षेत्र पहिचान गरी २९ मुख्य क्रियाकलाप समावेश गरिएको जनाइएको छ ।  

प्रतिक्रिया