के-पप गायक ताइलमाथि यौन अपराधको आरोप

एजेन्सी । दक्षिण कोरियाली गायक ताइलले  यौन अपराधको आरोप लागेपछि के–पप ब्यान्ड एनसीटी छोडेका छन्। ३० वर्षीय ताइलको  एजेन्सी एसएम इन्टरटेन्मेन्टले ट्वीटर (एक्स) मा  एक सूचना जारी गर्दै  एनसीटीका सदस्यले ’यौन अपराधसँग सम्बन्धित आपराधिक मुद्दामा आरोपित भएको’ थाहा पाएपछि  ब्यान्डबाट उनलाई हटाउने निर्णय गरेका हुन् । 

दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार सियोलको बाङ्बे प्रहरी चौकीले ताइलमाथि यौन अपराधको सम्बन्धमा अनुसन्धान गरिरहेको घोषणा गरेको छ । ताइलको खास नाम मून ताए–इल हो । ताइलले  आरोपबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैनन् ।एसएम इन्टरटेन्मेन्टले प्रहरीको अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको जनाएको छ ।

ताइल सन् २०१६ मा सुरु भएको दक्षिण कोरियाली ब्वाइज ब्यान्ड एनसीटीमा आवद्ध थिए । गत वर्षको अगष्ट १५ मा दक्षिण कोरियाको सियोल शहरमा मोटरसाइकलमा यात्रा गर्ने क्रममा ताइल कार दुर्घटनामा परेका थिए । उनलाई ’यौन अपराधसँग सम्बन्धित फौजदारी मुद्दामा अभियुक्त’ बनाइएपनि के कस्तो अपराध गरेका भनेर खुलाइएको छैन । उनीमाथि लागेको आरोपबारे कोरिया पुलिसले टिप्पणी गर्न अस्वीकार गरेको समाचारमा उल्लेख छ । 

प्रतिक्रिया