पाँचथरमा बाढीपहिरोमा फसेका १२ जनाको हेलिकोप्टरबाट उद्धार

पाँचथरमा अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण अलपत्र अवस्थामा रहेका १२ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । सोमबार विराटनगरबाट गएको नेपाली सेनाको हेलिकोप्टरमार्फत याङवरक गाउँपालिका–१, फेदीमा अलपत्र परेका १२ जनाएको उद्धार गरिएको हो ।

उद्धार गरिएकाहरू तीन परिवारका सदस्य हुन् ।उनीहरूलाई स्थानीय विष्णु माविमा सुरक्षित राखिएको छ । उद्धार गरिएकाहरूमा पाँचथर याङवारक गाउँपालिका १ बस्ने वर्ष ६० का नरमाया गुरूङ, उनको नाती वर्ष १६ का सन्दिप गुरूङ र नातिनी हिमा गुरूङ रहेका छन् । त्यस्तै ८० वर्षीय कृष्णबहादुर गुरूङ, उनकी श्रीमती ६० वर्षीया डिकमाया गुरूङ, उनका छोरा ३५ वर्षीय काजुहाङ गुरूङ र बुहारी ३० वर्षीय सुनिता गुरूङको पनि उद्धार भएको छ ।

त्यस्तै ४३ वर्षीय मनबहादुर गुरूङ, उनकी श्रीमती ४४ वर्षीया मन कुमारी गुरूङ, छोरी१६ वर्षकी सुस्मा गुरूङ, सोही स्थानका ७० वर्षीय पदम बहादुर खालिङ र उनकी श्रीमती ६८ वर्षीया मनमाया खालिङको उद्धार गरिएको छ ।

ताप्लेजुङको मेहेले र अरू ठाउँमा पनि हेलिकोप्टरमार्फत उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया