प्रतिनिधि सभा बैठक आजपनि बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहीबार पनि बस्दै छ । संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । 

बैठकमा प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९÷०८० पेस गर्ने कार्यसूची छ । 

बैठकमा सोबिता गौतमले ‘हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय संगठनहरूले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाहरूले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर परेको हुँदा तत्काल सुधारात्मक कदम चाली विश्वसनियता बढाउन आवश्यक भएको’ विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

प्रस्तावको समर्थकमा डोलप्रसाद अर्याल, सन्तोष परियार, तोसिमा कार्की, हरि ढकाल, मनिष झा, निशा डांगी, विनिता कठायत, शिव नेपाली, अशोक कुमार चौधरी, सुमना श्रेष्ठ, डा. चन्दा कार्की भण्डारी, गणेश पराजुली र विन्दवासिनी कांसकार रहनेछन् । 

बैठकमा सभामुख देवराज घिमिरेले तत्कालीन संविधानसभा सदस्य श्रवण कुमार अग्रवालको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । अग्रवालको गत साउन २१ गते निधन भएको थियो । उनी जनता समाजवादी पार्टी, नेपालका तर्फबाट २०६४ र २०७० सालको संविधानसभा निर्वाचनको समानुपातिक सांसद थिए ।

प्रतिक्रिया