सवारी दुर्घटना न्युनिकरणमा परिणाममुखि काम गर्न संवद्ध पक्षलाई गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्युनिकरण हुनेगरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । 

सवारी दुर्घटनामा परी पछिल्लो समय ज्यान गुमाउनेहरुको संख्या बढ्दै गइरहेको भन्दै गृहमन्त्री लेखकले बुधवार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सरोकारवाला पक्षसँगको छलफलमा सो निर्देशन दिएका हुन्  । आउने २/३ महिना भित्र सवारी दुर्घटनामा कमी आएको देखिनेगरी संवद्ध पक्षले परिणाममुखि काम गर्नुपर्ने गृहमन्त्री लेखकको भनाई थियो ।

 उनले गृह मन्त्रालय पनि सवारी दुर्घटनामा तानिने भएकाले आफूले संवद्ध पक्षलाई त्यसो हुन नदिन सचेत गराउनुपरेको पनि स्पष्ट पारे । सवारी दुर्घटना हुन नदिनका लागि हरेकले आ–आफनो जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गर्दै गृहमन्त्री लेखकले त्यसका लागि यातायात व्यवस्था परिषद्को फोकल प्वाईन्ट रुपमा काम गर्नुपर्ने पनि बताए । संवद्ध पक्षबीच दैनिक हुने छलफलले सडक दुर्घटना न्युनिकरणमा कमी ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने पनि उनले स्मरण गराए । 

छलफलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बजार मूल्यको वृद्धि अनुसार सार्वजनिक यातायाताको भाडाको समायोजन गर्नुपर्ने, यातायाता सुधार सुझाव कार्यदलको प्रतिवेदन, २०८० लाई यथाशिघ्र कार्यान्वयन गराउनका लागि पहल गरिदिन सरकारलाई आग्रह गरेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सार्वजनिक यातायातको भाडादर बजार मूल्य वृद्धिको आधारमा समायोजन गर्नका लागि पहल गरिदिन गृहमन्त्री लेखकको ध्यानाकर्षण गराए । 

प्रतिक्रिया