सडक अवरुद्ध भएपछि फलफूल आयात रोकियो

सिन्धुपाल्चोक । सडक अवरुद्ध हुँदा तातोपानी नाकाहुँदै चीनबाट गरिँदै आएको फलफूल आयात रोकिएको छ ।

यसअघि दैनिक रु चार करोड बराबरको चिनियाँ फलफूल आयात भइरहेको बेलामा हाल सडक अवरुद्ध हुँदा  रोकिएको छ ।

तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले भने बाढीपहिरोका कारण पटक–पटक कोदारी राजमार्ग अवरुद्ध हुँदा चीनबाट गरिँदै आएको फलफूल आयात रोकिएको हो ।

फलफूल बाटोमै कुहिने समस्या भएपछि व्यवसायीले गत असारदेखि नै आयात रोकेका हुन् । स्याउ, अनार, अङ्गुुरसँगै नासपाती, सुन्तला, अम्बा, ओखर, किबी, जुनारलगायत फलफूल चीनबाट आयात गर्ने गरिएको  केसीले बताए ।

आयात रोकिएपछि राजस्वमा प्रत्यक्ष असर परेको प्रमुख केसीले भने । हाल उक्त नाकाबाट हुने निर्यात पनि शून्य नै रहेको छ । नेपालबाट निर्यात हुने हस्तकलाका सामान, खाद्यान्न, जडीबुटीजन्यलगायत सामान तातोपानी नाकाहुँदै व्यापारीले चीनतर्फ निर्यात गर्न पाएका छैनन् ।

असार अन्तिमसम्म दैनिक चिनियाँ फलफूल आयात हुन्थ्यो । बर्खामा चीनबाट आयातित फलफूल समयमा ढुवानी नहुने समस्याले गर्दा व्यवसायीले अघिल्ला वर्षमा बेहोर्नु परेको नोक्सानलाई ध्यानमा राख्दै गर्दै यसपटक आयात नै रोकेको व्यवसायी हाउडे दोर्जे लामाले बताए।

दसैँका लागि सामग्री बोकेर आएका करिब  ८० चिनियाँ कन्टेनर न्यालम नजिक बाटोमा रोकिएका छन् । विभिन्न सामान बोकेका कन्टेनर १४ दिनदेखि बाटोमै छन् । यस्तै विभिन्न सामानसहितका एक सय तीन चिनियाँ कन्टेनर पनि बीच बाटोमै अड्किएका तातोपानी भन्सारले जनाएको छ ।

नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका सचिव आङ्दोर्जे शेर्पाले भने खासा पुनःनिर्माण अन्तर्गत बीच भागमा सुरुङ निर्माण जारी रहेकाले सामान रोकिएको हो ।

पार्किङ भाडा मात्रै दैनिक एक हजार चिनियाँ युयान तिर्नुपरिरहेको  शेर्पाले बताए । चिनियाँ गाडी तातोपानी आउन जति ढिला भयो सामानको मूल्य त्यति नै बढी पर्ने शेर्पाले जानकारी दिए ।

नाकामा होटल, रेस्टुरेन्ट र पसल भने खुल्न थालेका नेपाल ट्रक कन्टेनर मजदुर सङ्घका अध्यक्ष अर्जुन सापकोटाले बताए ।

रासस 

प्रतिक्रिया