पछिल्लो एक सातायता प्याजको भाउ महँगियो

काठमााडैं । पछिल्लो एक सातायता नेपाली बजारमा प्याजको भाउ महँगिएको छ । प्याजमा भारतसँग परनिर्भर रहँदै आएको नेपाल भारतमा महँगो भएको हल्ला आउनेबित्तिकै यसको असर नेपाली बजारमा देखिन थालेको हो । 

पछिल्लो एक साताको बिचमा प्याजको भाउ थोकमै प्रतिकेजी ४० रुपैयाँ महँगिएको छ भने खुद्रा भाउ अझै महँगो भएको छ । देशकै ठुलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा मङ्गलबार प्रतिकेजी १२० रुपैयाँ थोकमा कारोबार भएको छ । जबकि एक साताअगाडि प्याज प्रतिकेजी ८० रुपैयाँ थोकमा कारोबार भएको थियो । 

खुद्रा बजारमा प्याज प्रतिकेजी १५० रुपैयाँमा कारोबार भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सामान्य अवस्थामा औसतमा भारतबाट एक सय मेट्रिक टन प्याज भित्रिँदै आएको बजारमा पछिल्लो एक सातादेखि औसतमा ४५ मेट्रिक टन प्याज भित्रिएको छ । भारत सरकारले प्याज निर्यातमा कडाइ गर्न निर्यात महसुल वृद्धि गरेकाले यसको असर नेपाली बजारमा देखिएको हो । 

कृषि विभागका अनुसार नेपालमा कञ्चनपुरदेखि झापासम्म प्याज उत्पादन हुन्छ । ती क्षेत्रमा औसत २० हजार २५१ हेक्टरमा प्याज खेती हुने गरेको विभागको तथ्याङ्कमा छ । यहाँ वार्षिक करिब तीन लाख मेट्रिक टन प्याज उत्पादन हुन्छ । बाँकी आयातमै निर्भर हुनुपर्ने बाध्यता छ । गत आर्थिक वर्षमा १२ करोडभन्दा बढी प्याज आयात भएको भन्सार विभागको तथ्याङ्क छ । जसमा ८५ प्रतिशत भारतबाट आउने गरेको छ भने १५ प्रतिशत चीनबाट आउने गरेको छ । 

प्रतिक्रिया