अवैधरूपमा अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र
काठमाडौं । ल्याटिन अमेरिकी राष्ट्र ब्राजिलको साउपाउलोस्थित विमानस्थलमा १७६ जना नेपाली अलपत्र परेका छन् । मानव तस्करहरूले उनीहरूलाई विभिन्न प्रलोभन देखाएर अवैध तरिकाले अमेरिका छिराइदिने भन्दै साउपाउलोस्थित विमानस्थल पुर्याएका नेपालीहरु अलपत्र पारेका हुन् ।
ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिटमा १७६ नेपाली अलपत्र परेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । उनीहरूलाई आवश्यकता अनुसार मानवीय सहायता पुर्याउन आफूहरू तयारी अवस्थामा रहेको नेपाली दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
“ट्रान्जिटमा रहेका सबै १७६ जना नेपाली नागरिक सकुशल छन् र आवश्यकता अनुसार उनीहरूलाई मानवीय सहायता पुर्याउन दूतावास तयारी अवस्थामा छ,” ब्राजिलस्थित नेपाली दूतावासले मंगलबार विज्ञप्ति जारी गर्दै भनेको छ ।
दक्षिण अमेरिकाका ब्राजिल लगायतका मुलुक हुँदै अवैधरूपमा अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरूमा आउने प्रवृत्ति बढ्दो क्रममा रहेको दूतावासले जनाएको छ ।
मानव तस्करले नेपाललगायत दक्षिण एसियाका राष्ट्रका युवाहरूलाई अलपत्र पार्न थालेपछि ब्राजिलले नयाँ नियम सार्वजनिक गरेको छ ।
दूतावासले मानव तस्करहरूको सञ्जाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने भन्दै जायज कारण भएमा सो पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिएर मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
प्रतिक्रिया