विरोधीहरुले गलत आरोप लगाएको भन्दै सांसद राजन दाहालले सार्वजनिक गरे आम्दानी र खर्च बिवरण

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा  सदस्य राजन दाहाल(लेखनाथ)ले आफूलाई अनावश्यक आरोप लगाइ बिरोधिहरुले चरित्र हत्या गर्न खोजेको बताएका छन् । 

सिन्धुली जिल्लामा माओवादी पार्टी कार्यालयको भवन निर्माण सम्पन्न भएर संचालनमा आइसकेको अवस्थामा कतिपयले आफूलाई अनियमितता गरेको भनेर जनतालाई भ्रमित पार्न अफवाह फैलाएको भन्दै दाहालले त्यसप्रति आपत्ति जनाएका छन् । आफू सधै देश र जनताको पक्षमा रहेको र आफूले गरेको राम्रा काम देखेर बिरोधीहरु झस्किएर गलत प्रचारमा लागेका दाहालको दाबी छ । पार्टी कार्यलय बनाउदा आफूले  राम्रो काम गरेको हुनाले बिभिन्न कुतर्कहरुको सामाना गर्नु परेको सांसद दाहालको भनाई छ । 

माओवादी पार्टी भित्रैका केहीले राजनीतिक पूर्वाग्रह राखेर  बिरोधीहरुसँग मिलेर  चरित्र हत्या हुने गरि अनावश्यक प्रचार गरिएको दाहालले एभिन्यूज खबरसँग बताए । ”बिरोधीहरुले जतिनै  मलाइ खुइल्याउन र जनताको बिचमा जतिनै भ्रम पार्न खोजे पनि जनता यस विषयमा प्रष्ट छ्न् ।” दाहालले भने ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं तत्कालीन सिन्धुली जिल्ला इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य दाहालको नेतृत्व तथा उनकै पहलकदमीमा  कमलामाई नगरपालिका–६ माढीबजारमा १२ धुर  जग्गा खरिद गरि कार्यालय भवन समेत निर्माण सम्पन्न भैसकेको छ । सो आधुनिक भवनको २०७८ चैतमा  पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए । 

कार्यालय भवन निर्माण प्रक्रियामा  पार्टीको लेटरप्याड तथा सहयोग रसिद बिना नै सामाजिक संजाल फेसबुक  मार्फत सार्वजनिक आव्हान गरेर सहयोग गर्न अपिल गरेको र दाताहरुले स्वेच्छिक रुपमा उत्साहित भएर सहयोग गरेका दाहालले बताए । उनले भवन निर्माणको लागि खर्च भएको सबै हिसाव किताब सार्वजनिक गरेका छन् । जसमा १ हजार ६७ जनाले नगद र जिन्सी सहयोग गरेका दाहालले जानकारी दिएका छन् ।  त्यसमा २ करोड ४७ लाख ३३ हजार २१९ रुपैया सहयोग प्राप्त भएको छ ।  त्यसमध्ये  जग्गा खरिदमा ७१ लाख ५० हजार खर्च भएको छ भने जग्गा रजिस्ट्रेशन दस्तुर २ लाख २० हजार खर्च भएको छ । यस्तै .भवन निर्माणको लागि  ठेकेदार ज्याला २१लाख  ३२ हजार लागेको दाहालले सार्वजनिक गरेको खर्च बिवरणमा उल्लेख छ ।

त्यसैगरी सिमेन्ट,रड र इँटा खरीदमा  ५४ लाख ८ हजार २०३ रुपैयाँ खर्च भएको छ । वायरिङ्ग प्लम्बीङ (ज्यालासमेत) गरेर ८ लाख ६१ हजार ८४६, टायल मार्वलमा ९ लाख ६१ ह्जार ८४०,झ्याल ढोका फर्निचर सामग्री समेत गरेर .१० लाख १५हजार ४८५ खर्च भएको दाहालले बताए । त्यसैगरी शिलालेख लेखन तथा खुद्रा खर्च ५ लाख ३६ हजार ३ सय,झ्यालको ग्रील, रेलिङ्ग स्टील गरेर  ५ लाख ७७ हजार ६०रुपैया भवन निर्माणमा खर्च भएको छ ।

दाहालका अनुसार भवन उदघाटन व्यवस्थापनमा २ लाख ८५ हजार,.ग्लास सिसा  ८४ हजार ४८५, ढुङ्गा गिटी वालुवा खर्च ६ लाख ५० हजार र बिरामीहरुका लागि  ३ लाख ५१ हजार खर्च भएको छ । बाकी ४५ लाख रुपैया जनसेवा फाउन्डेसन मार्फत फिक्स डिपोजिटमा राखिएको र त्यसबाट आएको व्याजबाट गरिव, दुखी,असहाय र गम्भीर प्रकृतिको बिरामीहरुको उपचारार्थ सहयोग गरिएको दाहालले सार्वजनिक गरेको खर्च बिवरणमा उल्लेख छ । त्यसैगरी  शिलालेखमा नाम  समावेश भएर पनि बैंक खातामा   ४ लाख ३९ हजार ७५१रुपैया जम्मा नभएको दाहालले जनाएका छन् । 

प्रतिक्रिया