सय दिन नपुग्दै संसदमा दाहालले सरकारको आलोचना गर्नु गलतः एमाले सांसद पन्त

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) का सांसद रघुजी पन्तले सय दिन नपुग्दै सरकारको आलोचना गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आलोचना गरेका छन् । 


मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिपक्ष दलको नेता दाहालले सरकारको आलोचना गरेका थिए। तर सय दिन नपुग्दै संसदबाट सरकारको आलोचना गर्ने काम संसदीय प्रणालीमा नहुने जिकिर गर्दै अध्यक्ष दाहालको अभिव्यक्तिप्रति सांसद पन्तले आपत्ति जनाए । 

उनले दाहालको प्रतिपक्ष दलको नेता पद पनि सत्तारुढ दलले लैजाओस् भनि दिएको अभिव्यक्तिको पनि प्रतिवाद गरे । दुई ठूला दलले सरकार बनाएपछि तेस्रो ठूलो दलले सो पद पाउने संवैधानिक व्यवस्था रहेकाले दाहालले त्यसो भन्न नमिल्ने उनको तर्क थियो ।

सांसद पन्तले संविधान पढ्न र संविधानले गरेको व्यवस्था अनुसार प्रतिपक्ष दलको नेताको पद स्वीकार गर्न आग्रह गर्दै लिन नचाहे पार्टीका उपमहासचिव जनार्दन शर्मालाई दलको नेता बनाइ पद दिन आग्रह गरे । 

सांसद पन्तले अध्यक्ष दाहाल सत्ता जता गयो, त्यतै जाने गरेकाले मुलुकमा राजनीतिक अस्थिरता आएको पनि बताए । उनले सत्तामा नरहेको छटपटी संसदमा अभिव्यक्त गर्ने काम पनि अध्यक्ष दाहालले गर्न नमिल्ने बताए

प्रतिक्रिया