बाढीपहिरो र सडक दुर्घटनाका बिरामीको निःशुल्क उपचार गर्न सांसदहरूको माग

काठमाडौं ।  प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले अविरल वर्षाका कारण देशभर भइरहेको बाढीपहिरो र सडक दुर्घटनाका घाइतेको निःशुल्क उपचार तथा पुनः स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको आकस्मिक समयमा सांसद सुशीला लिङले सिन्धुली जिल्लामा यही भदौ ७ गतेको अविरल वर्षाका कारण हायु बस्तीका पाँच घर भत्किएका र १५ परिवार विस्तापित भएकाप्रति ध्यानाकर्षण गराउँदै क्षतिपूर्ति र पुनःस्थापनाको माग गरे  ।

सांसद जनार्दन शर्माले देशभर परेको वर्षाका कारण धेरै धनजनको क्षति भएको र सडक दुर्घटनामा परेर मानिसको ज्यान गइरहेकाप्रति सरकारको ध्यानाकर्षण बताए ।  
 
सांसद शान्ति विकले विगत केही समयदेखि स्वदेश तथा विदेशमा महिला हिंसासम्बन्धी घटना विश्वभरि नै देखिएका र महिलाहरू कही पनि सुरक्षित हुन नसकेको देखिएको बताइन् ।  

सांसद अमरेशकुमार सिंहले पछिल्लो समय देशमा सडक दुर्घटना बढेको र दुर्घटना कम गराउन सरोकार भएका पक्षको ध्यानाकर्षण गराए ।
     
सांसद गणेश पराजुलीले देशैभरि भएका सवारीसाधन दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै जनतालाई सरकार भएको सहसुस दिलाउन आग्रह गरे । 

सांसद शिव नेपालीले सडक र हवाई दुर्घटना न्यूनीकरण गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । 


 

प्रतिक्रिया