सरकारले चितवन र पर्सा निकुञ्जका लागि एउटै प्रवेश पासको व्यवस्था गर्नुपर्छः महेश बर्तौला

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकहरुका लागि एउटै प्रवेश पासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

मंगलबार  प्रतिनिधि सभा बैठकमा बोल्दै उनले पर्यटन प्रवद्धनका लागि महत्वपूर्ण मानिएको दुवै राष्ट्रिय निकुञ्जमा एउटा गेट पासबाट पर्यटकहरुलाई प्रवेश गर्न पाउने गरी आवश्यक व्यवस्था मिलाउन वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । 

 प्रमुख सचेतक बर्तौलाले चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज मधेस प्रदेश र वागमती प्रदेशको पर्यटन प्रवद्र्धनको सबैभन्दा महत्वपूर्ण क्षेत्र भएकाले यसको उचित व्यवस्था गर्ने काममा सरकारले विशेष ध्यान दिनुपर्ने बताए । उनले सरकारले पर्यटन प्रवद्धनको कामलाई व्यवहारिक रुपमा नै अघि बढाउनुपर्ने आवश्यकता पनि बताए । 

प्रमुख सचेतक बर्तौलाले ती दुवै राष्ट्रिय निकुञ्ज प्राकृतिक परिदृश्यले पनि मनोरम रहेकाले त्यसको प्रवद्धनबाट राष्ट्रले ठूलो आयआर्जन गर्नसक्ने पनि बताए । 

प्रतिक्रिया