एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा पाण्डे सर्वसम्मत चयन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद पाण्डे सर्वसम्मत चयन भएका छन् । आज बिहान उक्त पदका लागि घनेन्द्र बस्नेतले र पाण्डेले उम्मेदवारी दर्ता गराएकोमा बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्ड सर्वसम्मत चयन भएका हुन् ।

समाजवादीको पदाधिकारी र पोलिटब्युरो चयनका लागि आज बिहान उम्मेदवारी दर्ता भइसकेको छ । आज हुने निर्वाचनका लागि उपाध्यक्ष पदमा महिलातर्फबाट रामकुमारी झाक्री र जयन्तीदेवी राईले उम्मेदवारी दिएका छन् ।

यस्तै, उपाध्यक्ष मधेशी समुदायको तर्फबाट धर्मनाथप्रसाद साह र रामचन्द्र झाले उम्मेदवारी दिएका छन् भने उपाध्यक्ष खुल्लामा ११ जनाले उम्मेदवारी दिएका छन् ।

यसैगरी, उपमहासचिव पदमा २० जनाको उम्मेदवारी परेको छ। मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, राजेन्द्र राईलगायतले उपमहासचिव पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

सोमबार सम्पन्न केन्द्रीय कमिटी बैठकले सहमतिको प्रयास सफल नभएपछि निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य छनौट गर्ने निर्णय गरेको हो ।

सोही निर्णयअनुसार पार्टीको निर्वाचन आयोगले आज मतदाताको नामावली प्रकाशन गरी प्रक्रिया अगाडि बढाएको छ ।

 

प्रतिक्रिया