टी–२० महिला विश्वकपको खेल तालिका सार्वजनिक
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले महिला ट्वान्टी–२० विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ ।
आइसिसीले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार अक्टोबर तीनमा हुने उदघाटन खेलमा बंगलादेश र स्कटल्यान्ड भिड्ने छन् । स्कटल्यान्ड र बंगलादेशबीच महिला टि ट्वान्टी विश्वकप २०२४ को पहिलो खेल हुने भएको हो । सोही दिन हुन दोस्रो खेलमा पाकिस्तान र श्रीलंका आमने सामने हुनेछन् । दुवै खेल सारजाह क्रिकेट मैदानमा खेलाइने छ ।
साविक विजेता अस्ट्रेलियाले अक्टोबर ५ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । भारतले आफ्नो पहिलो खेलमा दुबईमा न्युजिल्याण्डविरुद्ध खेल्नेछ । भारतले ६ अक्टोबरमा दुबई ईन्टरनेसनल क्रिकेट स्टेडियममा पाकिस्तानको सामना गर्नेछ ।
तालिका अनुसार दुबइमा १२ र सारजाहमा ११ खेल हुनेछन् । प्रतियोगिता अक्टोबर २० सम्म युएईमा हुनेछ । पहिलो सेमिफाइनल १७ अक्टोबरमा दुबईमा आयोजना हुनेछ । १८ अक्टोबरमा शारजहाँमा दोस्रो सेमिफाइनल आयोजना हुनेछ । प्रतियोगिताको फाइनल २० अक्टोबर दुबईमा हुनेछ ।
सेमिफाइनल र फाइनल दुवैलाई रिजर्भ डे रहेको छ । यसअघि यो प्रतियोगिता बंलादेशमा हुने तय थियो । प्रतियोगिता युएईमा आयोजना हुने भएसँगै नयाँ खेलतालिका सार्वजनिक भएको हो । प्रतियोगितामा १० टोलीको सहभागीता रहेको छ । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुई समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
समूह ‘ए’ मा साविक विजेता अस्ट्रेलिया, पाकिस्तान, भारत, न्युजिल्यान्ड र श्रीलंका तथा ‘बी’ मा दक्षिण अफ्रिका, इङ्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र स्कटल्यान्ड छन् । प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन् ।
प्रतिक्रिया