जर्मनीले मङ्कीपक्सबाट पीडित अफ्रिकी देशलाई खोप सहयोग गर्ने

एजेन्सी । जर्मनीले मङ्कीपक्सबाट पीडित अफ्रिकाका देशहरूलाई एक लाख एमपोक्स (मङ्कीपक्स) खोप दिने भएको छ ।

सैन्य स्टकहरूबाट खोप आउने र छिटै मङ्कीपक्सबाट प्रभावित अफ्रिकाका देशहरुलाई उपलब्ध गराइने जर्मनी सरकारले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अफ्रिकी महादेशमा मङ्कीपक्स नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूको ऐक्यबद्धतामा समर्थन गर्ने उद्देश्यले जर्मनीले खोप अनुदान दिन लागेको बताइएको छ । जर्मनीले विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचआलाई वित्तीय सहयोग प्रदान गर्नुका साथै गाभी भ्याक्सिन अलायन्समार्फत अफ्रिकामा साझेदारहरूलाई सहयोग गरिरहेको जनाएको छ ।

डब्ल्यूएचओले कङ्गोबाट अन्य अफ्रिकी राष्ट्रहरूमा मङ्कीपक्स सङ्क्रमण बढ्न थालेपछि  विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेर खोपको उत्पादन र साझेदारीका लागि अन्तर्राष्ट्रियस्तरमा आह्वान गरेको थियो । यसअघि फ्रान्स, अमेरिका लगायतका केही युरोपेली राष्ट्रले खोप उपलब्ध गराउने प्रतिबद्धता गरिसकेका छन् ।

मङ्कीपक्सका कारण अहिलेसम्म कङ्गोमा पाँच सय ७० भन्दा धेरै मानिसको मृत्यु भैसकेको छ । बुरुन्डी, केन्या, रुवान्डा र युगान्डामा पनि प्रकोपको रुपमा मङ्कीपक्स सङ्क्रमण फैलिरहेको छ । युरोपमा स्विडेन र एसियामा पाकिस्तानमा मङ्कीपक्स सङ्क्रमणका बिरामी भेटिएका छन् ।
 

प्रतिक्रिया