काँकरभिट्टा नाकामा खुलेआम प्रतिबन्धित भारुको कारोबार

झापा । नेपाल राष्ट्र बैंकले नेपालमा भारतीय रुपैयाँ एक सयभन्दा ठूला नोटको कारोबारमा प्रतिबन्ध लगाएको छ । भारतीय रुपैयाँ एक सय दरभन्दा ठूला नोट साथमा राख्न, ओसरपसार गर्न र कारोबार गर्न प्रतिबन्ध लगाइएको भएपनि नेपालको पूर्वी सीमा काँकरभिट्टा नाकामा भने प्रतिबन्धित भारतीय नोटहरुको खुलेआम कारोबार भइरहेको छ । सीमावर्ती काँकरभिट्टा बजार क्षेत्रमा ४० वटा हाराहारी मनी एक्सचेञ्जर सटही काउन्टर छन् । यी सटही काउन्टरले पनि प्रतिबन्धित दुई सय र पाँच सय दरका भारतीय नोटको कारोबार गर्दै आएका छन्  ।

पर्यटनसँग सरोकार राख्ने निकायहरु अवैध यस्ता कारोबारलाई निरुत्साहित गर्नुपर्ने बताउँछन् । पर्यटनसँग सम्बिन्धित कार्यालयका पदाधिकारी आफूहरुले यस्ता गतिविधि रोक्न प्रयास गरे पनि नसकेको बताउँछन्  । 
 
नेपाल बैंकको काँकरभिट्टा शाखाले केही वर्ष अघिसम्म सटही काउन्टर राखेको थियो । त्यसले सर्वसाधारणलाई निकै सुविधा पर्‍याएको थियो । तर, अहिले नेपाल बैंकको सटही काउन्टर बन्द छ । त्यसको फाइदा अवैध कारोबारीले लिइरहेका छन् । अहिले व्यापारीलाई चर्को कमिसन दिएर भारतीय तथा नेपाली मुद्रा साट्न सर्वसाधारणहरु बाध्य छन् । त्यति मात्र होइन काँकरभिट्टा नाकामा व्यक्तिगत रुपमा अवैध तवरले भारतीय रुपैयाँको कारोबार गर्नेको सङ्ख्या पनि उल्लेख्य छ । 

त्यसमा महिलाको संख्या धेरै छ । पर्यटक भित्रने मुख्य प्रवेशद्वारमै खुलेआम अवैध काम भइरहे पनि सम्बन्धित निकाय मुकदर्शक छन् ।
 

प्रतिक्रिया