विराटनगरमा राधाकृष्ण रथ यात्रा आजदेखि सुरु
विराटनगर । विराटनगरमा मंगलबारदेखि राधाकृष्ण रथ यात्रा सुरु हुँदैछ । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्टबाट सुरु हुने रथयात्राले देशका विभिन्न जिल्ला र सीमावर्ती भारतका विभिन्न जिल्ला हुँदै यात्रा गर्ने गर्छ ।
५६ औं संस्करणको श्री राधाकृष्ण रथ यात्रा दिउँसो साढे तीन बजेबाट सुरु हुने बताइएको छ । रथले मेन रोड, ट्राफिक चोक, रोडशेस चोक, महेन्द्र चोक, वरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर यात्रा सामापन हुनेछ । रथले ६ घण्टाको समयमा ९ किलोमिटर लामो दूरी पार गर्ने जनाइएको छ । रथयात्राका क्रममा रथलाई ४३ स्थानमा विश्राम पनि दिइने छ ।
रथ यात्रामा विभिन्न जातजाति, भेसभुसा, संस्कृतिको पहिचान झल्कने ६० वटा भन्दा बढी झाँकीहरू सहभागी हुनेछन् । रथ यात्रामा प्रयोग गरिने रथ पेगोडा शैलीमा बनाईको छ जसको लम्बाई २२ फिट, चौडाई १४ फिट र उचाई १८ फिट रहेको छ । यस वर्षको रथयात्रा समारोहको मुख्य आकर्षण रथले तय गर्ने मार्गमा हेलिकप्टरबाट पुष्पगुच्छा वर्षाउने तयारी छ ।
रथयात्राको सुरक्षाका लागि १२ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ र भारतको जगन्नाथ पुरी पछि विराटनगरमा आयोजना हुने एसियाकै दोस्रो ठूलो दाबी गरिएको छ । रथ यात्रालाई लक्षित गरी कोसी प्रदेशभर सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
प्रतिक्रिया