आज रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक मंगलबार बस्दैछ । बैठक बिहान ८ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।

केन्द्रीय समिति बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकालको अनुशासनको कारबाहीबारे छलफल हुनेछ । यसअघिको बैठकमा उनलाई स्पष्टीकरणको अन्तिम मौका दिइएको थियो । पार्टीको प्रतिवेदन मिडियामा चुहाएको, पार्टी हितविरूद्ध गतिविधि गरेको भन्दै उनलाई पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट सदस्यबाट पदमुक्त गरेको थियो ।

रास्वपाले दोस्रो पटक स्पष्टीकरण सोधिएका डा. ढकाललाई साधारण सदस्यबाट पनि हटाउने विषयमा छलफल गर्न लागेको हो । ढकालमाथि पार्टीको हितविरुद्ध गतिविधि गरेको आरोप छ ।

यस्तै, मंगलबार बस्ने बैठकमा आगामी असोजमा हुने, राष्ट्रिय भेला छाया सरकार सञ्चालन कार्यविधि, सङ्गठन सुदृढीकरण र विस्तार लगायत समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।

रास्वपाले आगामी असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने तयारी गरेको छ ।
 

प्रतिक्रिया