एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो चयनका लागि आज निर्वाचन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा १८ पदाधिकारीसहित पोलिटब्युरो सदस्य छनौटका लागि मंगलबार निर्वाचन हुँदैछ ।

सोमबार सम्पन्न केन्द्रीय कमिटी बैठकले सहमतिको प्रयास सफल नभएपछि निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य छनौट गर्ने निर्णय गरेको हो । सोही निर्णयअनुसार पार्टीको निर्वाचन आयोगले मतदाताको नामावली प्रकाशन गरी प्रक्रिया अगाडि बढाएको छ ।

मंगलबार बिहानदेखि उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम हुनेछ । त्यसपछि दिउँसो २ बजेदेखि मतदान सुरु हुने बताइएको छ । 

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी १८ पदका साथै ८४ पोलिटब्युरो सदस्य छनौटका लागि निर्वाचन गर्न लागिएको हो । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ । 

केन्द्रीय कमिटी सदस्यले मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने छन् । सचिवालय सदस्य, स्थायी समिति सदस्य विभागलगायत संरचना केही दिनपछि निर्माण गर्ने जनाइएको छ । केन्द्रीय कमिटीमा हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी चुनिएका छन् । 

प्रतिक्रिया