यु-२० साफ च्याम्पियनसिप: भारतलाई हराउँदै बंगलादेश फाइनलमा

फाइनलमा  बंगलादेश र नेपाल भिड्ने

काठमाडौ ।  टाइब्रेकरमा साविक विजेता भारतलाई  हराउदै  बंगलादेश जारी यु–२० साफ च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको सेमिफाइनल खेलको  पेनाल्टी सुटआउटमा  बंगलादेशले जित हात पारेको हो ।  खेलको निर्धारित समय १–१ गोलको बराबरी भएपछि  पेनाल्टी सुटआउटमा बंगलादेशले ४–३ ले खेल आफ्नो पक्षमा पार्‍यो।

त्यसअघि खेलको पहिलो हाफमा लेफ्ट साइडबाट विंगर हुसेन राहुलले दोस्रो बार च्याप्दै गरेको प्रहार भारतका गोलरक्षक प्रयांशु दुबेले ड्राइभ गर्दै बचाए पनि सिक्स यार्ड बक्सभित्र रहेका असदुल मोल्लाले उक्त बललाई ‘वान टच’ फिनिस गर्दै जाली चुमाए।

तर, दोस्रो हाफको अन्तिम समयमा भारत खेलमा फर्कियो। उसका लागि कप्तान रिकी मेटी हवबमले बराबरी गोल गरे। ७५ औँ मिनेटमा उनले बराबरी गोल गर्दै भारतलाई खेलमा फर्काए। तर, साविक विजेता ट्राइबेकरमा भने स्तब्ध बन्यो।

भारतका दुई प्रहारलाई बंगलादेशी गोलरक्षकले बचाउँदा भारत दुर्भाग्यशाली बन्यो। टाइब्रेकरमा भारका परमवीर, ग्वाङ्गसार गोएरी र मनजोत सिंहले गोल गरे। तर, केल्भिन सिंह र आकाशको प्रहार बंगलादेशका गोलरक्षक मोहम्मद आसिफले रोकेका थिए।

बंगलादेशका अहमेद नोभा, मोइनुल स्लाम, साकिल तोपु र मोहम्मद आसिफले गोल गर्दा अन्तिम प्रहार अघिनै बंगलादेश ४–३ ले विजयी भयो।

यसअघि सोमबार नेपालले भुटानलाई पेनाल्टी सुटआउटमै पराजित गरेर फाइनल प्रवेश गरेको छ  ।  फाइनल खेल  बंगलादेश र नेपाल बिच बुधबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।  

प्रतिक्रिया