देउवाले डाके उपसभापति र महामन्त्रीको बैठक

काठमडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीको बैठक आह्वान छन् । मंगलबार बिहान देउवाको निवास बूढानीलकण्ठमा पाँच पदाधिकारी मात्र बस्ने गरी बैठक बोलाइएको हो । उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलमा बोलाइएको छ ।  

गएको फागुन ७ देखि १० गतेसम्म गोदावरीमा भएको कांग्रेस महासमिति बैठकबाट पारित प्रतिवेदन अझै केन्द्रीय समितिले अनुमोदन गरेको छैन । केन्द्रीय समितिबाट अनुमोदन नगरिँदासम्म महासमितिका निर्णय कार्यान्वयन हुँदैन ।  त्यसको करिब ६ महिनापछि बसेको केन्द्रीय समिति बैठकमा उपसभापति र महामन्त्रीका उक्त प्रतिवेदन पेस गरिएको थियो । तर, कुनै प्रतिवेदन पारित गरिएको छैन ।

०८२ भित्रै महाधिवेशन गर्ने र चुनावी गठबन्धन नगर्ने महामन्त्री गगन थापाका दुई प्रस्तावप्रति कांग्रेसको संस्थापन पक्षले आपत्ति जनाएको छ । महाधिवेशनको मिति तय गर्ने अधिकार केन्द्रीय समितिको रहेको र चुनावी गठबन्धन गर्नेरनगर्ने विषय नीतिगत नभएर रणनीति भएकाले त्यसलाई प्रतिवेदनमारदस्तावेजमा राख्न नमिल्ने देउवा पक्षको तर्क छ ।

महामन्त्रीद्वय थापा र शर्माले केन्द्रीय समिति बैठकमा पेश गरेको प्रतिवेदनको विषयले कांग्रेसमा विवाद छ। महामन्त्री थापाको चुनावी गठबन्धन नगर्ने र शर्माको ‘एक्जिट पोलिसी’ प्रस्तावमाथि संस्थापन पक्षको चर्को विरोध छ।
 
महामन्त्री थापाले भने आफूले अघि सारेका विषय पार्टीको तल्लो तहको  धारणा भएको भन्दै महासमितिबाट पारित गरिसकेपछि सच्याउन नमिल्ने अडान राख्दै आएका छन् ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा नेताहरूले ओगटेर बस्ने प्रवृत्ति अन्त्यका निम्ति ‘एक्जिट पोलेसी’ अघि सारेका छन् ।  

राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपल्ट, मन्त्री तीनचोटि र सांसद चारपालिभन्दा बढी बन्न नपाउने उनको प्रस्ताव छ । उनको प्रस्तावमा हालसम्म एक केन्द्रीय सदस्य पनि समर्थनमा उभिएका छैनन् । ती प्रस्तावमा सहमतिका निम्ति सभापति देउवाले उपसभापति र महामन्त्रीको बैठक डाकेका हुन् ।

प्रतिक्रिया