एमालेका नेता-कार्यकर्ता लक्षित बालेनको प्रतिक्रिया: जनतामा भ्रम छरेर गलत व्याख्या नगरिदिनू

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले  विभिन्न पार्टीका नेता–कार्यकर्तालाई जनतामाझ भ्रम नफैलाउन  आग्रह गरेका छन् ।  सोमबार सामाजिक सञ्जालमार्फत जानकारी गराउदै उनले सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्दा महानगरको निर्णय भन्दै जनतामाझ  गलत व्याख्या गरिएको बताएका छन्।

उनले सर्वोच्चको आदेशपछि महानगरले वाग्मती र विष्णुमती नदी वरिपरि ४० मिटर निर्माण निषेधित क्षेत्रबारे जानकारी गराइएको स्पष्ट पारेका छन् । टुकुचाखोलाको २० मिटर वरिपरि निर्माण निषेधित क्षेत्रबारे पनि जानकारी गराइएको उनले बताएका छन् ।

‘कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि नलागेर आफ्नो कान छाम्नुपर्ने’मा उनले जोड दिएका छन् ।
अदालतको आदेशानुसार जनताले आफ्नो जग्गा उपभोग गर्नबाट नरोकिएको पनि उनले स्पष्ट पारेका छन् । “नेपाल सरकारले चाहेमा मुआब्जा दिएर मात्र जग्गा अधिग्रहण गर्न सक्नेछ,” उनले लेखेका छन्, “अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीको नेता–कार्यकर्ताहरूले जनतामाझ भ्रम नछर्नु होला ।”

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले काठमाडौं कमिटीका नेताहरुले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर महानगरपालिकाले जारी गरेको सूचना खारेज गर्न र सर्वोच्चको फैसलामा न्यायिक पुनरावलोकन गर्न माग गरेका थिए । 

बालुवाटारमा एमाले बाग्मती प्रदेशका इञ्चार्ज डा. राजन भट्टराई, जिल्ला अध्यक्ष दीपक निरौला, महानगरका उपप्रमुुख सुनिता डङ्गोल, पूर्वमेयर विद्यासुन्दर शाक्यसहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीसमक्ष ज्ञापन पत्र बुझाएको थियो ।

ज्ञापन पत्रमा सर्वोच्चको आदेश र महानगरपालिकाको सूचना सम्पत्ति भोग गर्न पाउने संवैधानिक अधिकारको व्यवस्था विपरीत रहेको तर्क गरिएको छ । यदि महानगरपालिकाले जारी गरेको सूचना खारेज नभए असामान्य परिस्थिति सिर्जना हुने चेतावनी समेत एमाले नेताहरुले दिएका छन् ।

 

प्रतिक्रिया