ऊर्जाशील प्रधानमन्त्रीको नेतृत्वमा हामी केही गरी छाड्छौं: गृहमन्त्री लेखक

जनताका मुद्दालाई प्राथमिकता राख्न प्रहरीलाई निर्देशन

काठमाडौं।  गृहमन्त्री रमेश लेखकले जनताका मुद्दालाई प्राथमिकता राख्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन र भौतिक पूर्वाधारहरूको उद्घाटन गर्ने कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले जनताका मुद्दा बोक्दा त्यसैमा प्रहरीका मुद्दासमेत समेटिने उल्लेख गरेका छन्।  उनले प्रहरीले जनताका मुद्दा बोक्नुपर्ने बताए ।

‘प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दै उनले जनताको मुद्दालाई प्राथमिकता दिनुपर्ने बताए । जनताको मुद्दालाई प्राथमिकता दिँदा प्रहरीको  मुद्दा पनि आइहाल्ने उनको भनाई थियो । 

नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको छ र जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउनेमा विश्वस्त रहेको उनले उल्लेख गरे । ‘यो भवनले नेपाल प्रहरीले गर्ने सेवामा ठूलो सहयोग गर्नेछ । जनताले उचित सेवा पाउन सकून् । सरकारले प्रदान गर्ने सेवा मध्ये प्रहरीले प्रदान गर्ने महत्त्वपूर्ण सेवा हो,’ गृहमन्त्री लेखक भने ।

 कांग्रेस र एमाले मिल्दा आत्मविश्वास वृद्धि भएको गृहमन्त्री लेखकले जिकिर गरे ।‘यसको उदाहरण १८ वर्षसम्म अल्झिएको सङ्क्रमणकालीन न्यायको विषय निष्कर्षमा पुगेको छ । हामी नेता उहीँ हौं । छलफल हामीबीच भएको थियो । तर दुई दल मिल्दा बढेको आत्मविश्वासले हामी सहमतिमा पुग्न सक्यौँ । ऊर्जाशील प्रधानमन्त्री हुनुहुन्छ । उहाँको नेतृत्वमा हामी केही गरी छाड्नेछौं,’ उनले भने ।

सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजनासहित काम गरिरहेको गृहमन्त्री लेखकले जानकारी दिए ।

प्रतिक्रिया