रामेछाप : पहिराका कारण विस्थापित ६५ परिवारलाई सुरक्षित ठाउँमा सारियो

काठमाडौं । रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–३ मा पहिराका कारण विस्थापित भएका ६५ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । 

विस्थापित भएका एक सय ८० जनालाई टोकरपुरमा रहेको कण्ठेश्वर मा.वि.र गाँउपालिकाको खाली कोठामा सारिएको हो । आइतबार घटनास्थल पुगेका ऊर्जा, सिँचाइ तथा जलस्रोत राज्यमन्त्री पूर्णबहादुर तामाङले जोखिमयुक्त बस्ती तत्काल सुरक्षित स्थानमा सार्न निर्देशन दिएका थिए ।

 पहिरोमा परी मृत्यु भएकाका परिवारलाई राज्यमन्त्रीद्वारा जनही  १०/१० हजार प्रदान गरेका थिए । शनिवार राति पहिरोमा परेर ६ जनाको ज्यान गएको छ भने ४ जना हराइरहेका छन् । पहिरामा परी सोही वडाका ५५ वर्षका काले पहरी, ५० वर्षका झाइपुरी पहरी ६५ वर्षीया पुड्की पहरी र २१ वर्षीया बिन्दा पहरी हराइरहेकी हुन् । उनीहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

 घटनामा परी सोही स्थानकी ३० वर्षीया चण्डीका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुष श्रेष्ठ, सोही वडाका ५७ वर्षीया  उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरीको मृत्यु भएको थियो भने ११ वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी थिइन् ।

प्रतिक्रिया