नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । 

थापागाउँस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकमा पदाधिकारी चयनबारे छलफल हुनेछ । एकीकृत समाजवादीमा पदाधिकारी चयन सहमतिबाटै गर्ने कि चुनावै गराउने भन्ने छलफल छ ।

केही नेताहरूले नेतृत्व सहमतिबाट टुंग्याएकाले बाँकी पदाधिकारी पनि सर्वसम्मत नै टुंग्याउनुपर्ने धारण राखेका छन तर पदाधिकारीको आकांक्षी धेरै भएकाले चुनाव हुनुपर्ने माग पनि उठेको छ । यसबारे साेमबार प्रदेशका पदाधिकारीसँग राय लिइने एकीकृत समाजवादीले बताएको छ । 

एकीकृत समाजवादीमा १ अध्यक्ष, १ सम्मानित नेता, वरिष्ठसहित ७ उपाध्यक्ष, १ महासचिव, ४ उपमहासचिव, ७ सचिव रहने व्यवस्था छ । जसमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल महाधिवेशनको हलबाट निर्वाचित भएका थिए । बाँकी १८ सदस्य पदाधिकारी चयन हुन बाँकी रहेको छ ।

प्रतिक्रिया