सुदूरपश्चिममा गौरा पर्वको उल्लास, आज दुर्वाष्टमी मनाइँदै

काठमाडौं । सुदूरपश्चिममा गौरा पर्वको उल्लास छ । शनिबारदेखि विधिवत रुपमा सुरु भएको गौरापर्वको तेस्रो दिन आज दुर्वाष्टमी मनाइँदै छ । दुर्गाष्टमी अर्थात् अठ्यावाली यो पर्वको मुख्य दिन हो । 

गौराष्टमीका दिन व्रत बसेर महिला बिहानदेखि गौराखलो गौरा मनाउने स्थलमा फाग गाएर पूजाआजा गर्छन । गौरा पर्वकै अवसरमा सुदूरपश्चिमका विभिन्न जिल्लामा देउडा खेल, ढुस्को धुमारीलगायत वीर गाथा पनि गाइन्छ । हिजो दोस्रो दिन विरुडा धोएर घरघरमा गौरा भित्र्याइँएको थियो ।  पहिलो दिन तामा तथा पित्तलको भाँडोमा विरुडा राखेर विधिपूर्वक  विरुडा अर्थात पाँच प्रकारका अन्न तथा गेडागुडी भिजाइएको थियो । 

पहिलो दिनलाई ‘विरुडा पञ्चमी’ भन्ने गरिन्छ । घरमा गौरादेवीलाई भित्र्याएर गौरादेवीमा चढाएको दुबधागोलाई आज दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन व्रतालु महिलाले धारण गर्ने गर्दछन् । यसका साथै साँझको समयमा व्रतालु महिलाले कुण्डस्नान गर्ने परम्परा छ । गौराको मुख्य दिन भोलि दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन गौरालाई गौराघरबाट मन्दिर अर्थात् गौराखलामा लगेर पूजा गरिन्छ । गौरादेवीमा चढाएको दुबधागो धारण गरी विरुडाले आफन्तहरुको टाउको पूजन गरेर आशीर्वाद दिने गर्दछन् । गौरामा शिवपार्वतीको पूजाआजा गरिन्छ ।

 पौराणिककालमा भगवान् शिव महेश्वर प्राप्तिका लागि गौरा गौरीदेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी मनोकामना पूरा भएको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानामा यो पर्व मनाउने परम्परा चल्दै आएको होे । भाद्र शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा र भाद्र कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन रहिआएको छ । गौरा पर्व भाद्र शुक्लको पञ्चमीदेखि अष्टमीसम्म सुदुरपश्चिममा विभिन्न कार्यक्रम आयोजना गरेर मनाइन्छ । 

काठमाडौंको टुँडिखेलमा पनि देउडा गीत र नृत्य गरी सुदूरपश्चिमवासीले मनोरञ्जन गर्ने गरेका छन् । राजधानीमा सुदूर र मध्यपश्चिमवासीको बस्ती बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको हो । 

प्रतिक्रिया