श्री कृष्ण भगवानको पूजा आराधना गरी आज कृष्ण जन्माष्टमी मनाइँदै
काठमाडौं । बैदिक सनातन धर्मावलम्बीले आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाउँदै छन् ।
ज्ञानयोग, कर्मयोग र भक्ति योगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको विश्वास छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पूतना, कंस, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ ।
यस अवसरमा पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्छ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतन धाममा पनि भक्तजनको भीड लाग्छ । बूढानीलकण्ठस्थित कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ ।काठमाडौँसहित देशभरका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि मेला लाग्ने गर्छ । यस अवसरमा कृष्ण र कंसको नृत्यसमेत प्रस्तुत गरिन्छ ।
काठमाडौँका विभिन्न धार्मिक संघ संस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
प्रतिक्रिया