भ्रष्टाचार र तस्करी नियन्त्रणमा प्रभावकारी काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तस्करी र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी काम गर्न निर्देशन दिएका छन् ।  आइतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा  वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा ओलीले राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभाग, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल ट्रष्टलगायत कार्यालयलाई तस्करी, भ्रष्टाचार र राज्यको सम्पतिको दुरुपयोग नियन्त्रणमा प्रभावकारीरुपमा काम गर्न निर्देशन दिएका हुन् ।

उनले विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलोसम्म सुन तस्कारी भएका घटना स्मरण गराउँदै सम्बन्धित निकाय जिम्मेवार नहुँदा राज्यले ठूलो राजस्व गुमाएको र बेथिति हुर्किएको उल्लेख गरे ।
स्वदेशमा युवाहरुले काम पाउने र सम्मानका साग गर्ने वातावरण हुने स्थितिका लागि सुशासन विकास र लोकतान्त्रिक मूल्य, मान्यताको कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले लर्याङतर्याङ तरिकाले नभई जनताको समस्याको सम्बोधनका साथै विकास र समृद्धिको लक्ष्य हासिल गर्ने यात्रामा ढृढ र कटिबद्ध भएर प्रस्तुत हुन आग्रह गरे ।
उनले अझ राम्रोसँग काम गरुन् भनेर नै ती निकायहरुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मातहतमा ल्याइएको स्पष्ट गरे ।

प्रतिक्रिया