साफ यू-२० च्याम्पियनसिप: भुटानलाई पेनाल्टी सुटआउटमा हराउदै नेपाल फाइनलमा
काठमाडौ । भुटानलाई पेनाल्टी सुटआउटमा हराउदै नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ। आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सम भएको सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ४-१ गोलले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।
पेनाल्टीमा नेपालका लागि राम थापा, अभिनास स्याङतान र सिमान्त थापाले पेनाल्टीको बललाई गोलमा परिणत गरेका थिए । त्यस्तै नेपालका गोलकिपर जियरत शेखले प्रहार गरेको चौथो पेनाल्टी पनि गोलमा परिणत भयो ।
भुटानका जोत्सिन दोर्जीले पहिलो गोल गरे। तर दोस्रो प्रहार गरेका जिग्मे नाम्गेल र तेस्रो प्रहार गरेका उर्गेन दोर्जीको प्रहारलाई गोलकिपर जियरत शेखले बचाउदै नेपाललाई फाइनलमा पुर्याए।
खेलमा अग्रता भने भुटानले लिएको थियो। ५६ मिनेटमा जोत्सिन दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए। उनले डिबक्स बाहिरबाट हानेको सशक्त प्रहारलाई नेपालका गोलकिपर जियारत शेखले भेउ पाउन सकेनन्।
भुटान ७७ मिनेटमा १० खेलाडीमा सीमित बन्यो। भुटानका किन्जाङ तेन्जिङलाई रेफ्रीले रातो कार्ड देखाउँदै बाहिर पठाएका थिए। उनले नेपालका खेलाडीमाथि फाउल गरेक थिए।
७८ मिनेटमा नेपालले बराबरी गोल फर्काउन सफल भयो। भुटानले रातो कार्ड पाएपछि प्राप्त फिकिङ बलबाट आएको पासबाट निराजन धामीले सिक्स यार्ड बक्समा हेड गर्दै बललाई जाली चुमाए।
अब उपाधिका लागि नेपालले भारत वा बंगलादेश मध्ये एक टोलीसँग बुधबार दशरथमा प्रतिस्पर्धा गर्नेछ।
प्रतिक्रिया