नेपाल आयल निगमको संसदीय समितिले स्थलगत अनुगमन गर्ने

काठमाडौँ । संसदीय समितिले नेपाल आयल निगम लिमिटेडको स्थलगत अनुगमन गर्ने भएको छ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाल आयल निगम लिमिटेडको स्थलगत अनुगमन गर्ने भएको हो ।

आईतवार बसेको समितिको बैठकले निगमको स्थलगत अनुगमन गरी समग्र काम, कारबाहीको बारेमा जानकारी लिने निर्णय गरेको हो ।  सभापति खानले निगमको देशभरको अवस्थाका बारेमा बुझ्न स्थलगत अनुगमन गर्न लागिएको उनले बताए।

उनले पाइपलाइनबाट पेट्रोलियम पद्धार्थ आए नआएको र सोको अवस्थाका बारेमा लगायत निगमका सबै काम, कारबाहीको सम्बन्धमा अध्ययन, अवलोकन गरेर आवश्यक निर्देशन दिने तयारी गरिएको उनले जानकारी दिए ।

त्यस्तै समितिले वायो ईथानोल उत्पादन गर्ने स्वदेशी उत्पादकहरुलाई आह्वान गरी बायो ईथानोलको उत्पादन तथा प्रयोगमा ल्याउन आवश्यक प्रवन्ध गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेसन नामक संस्थाले विदेश जाने विद्यार्थी तथा श्रमिकको स्वास्थ्य परीक्षण गर्ने गरेको सूचना प्राप्त गरेको भन्दै संस्थाले सरकारको अनुमति लिए नलिएको बारेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट जानकारी माग गरेको छ ।

साथै सो संस्थाले सरकारलाई तिर्नुपर्ने करको अवस्थाको बारेमा पनि प्रमाणसहित समितिलाई जानकारी गराउन भनिएको छ ।

प्रतिक्रिया