हाम्रो सहयोग बिना कांग्रेस-एमालेले संविधानमा ‘कमा’ पनि परिवर्तन गर्न सक्दैनन्: खनाल

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा दुई पार्टी ‘सिस्टम’ आउने सम्भावना नरहेको बताएका छन् । 
आइतबार काठमाडौंमा आयोजित पार्टी केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रममा उनले नेपालमा दुई पार्टी सिस्टम ल्याउने कुरा कल्पनामा मात्र सीमित हुने टिप्पणी गरे । खनालले  कांग्रेस र  एमाले नेतृत्वको सत्ता गठबन्धनलाई दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादको संज्ञा दिँदै उनले उनीहरूले दुई पार्टी सिस्टम ल्याउने धृष्टता गरे पनि त्यो सम्भव नहुने जिकिर गरे ।

कांग्रेस र एमाले घमन्डी र भ्रष्ट पार्टी रहेको भन्दै उनले उनीहरूले संविधान संशोधनका निम्ति चलाएको हल्ला पनि काम नलाग्ने बताए । दुई ठूला पार्टीले आफूहरूको सहयोगबिना संविधान संशोधनका नाममा ‘कमा’ र ‘फुलस्टप’ पनि परिवर्तन गर्न नसक्ने उनले उल्लेख गरे ।

उनले संविधान संशोधनको नाममा समानुपातिक समावेशी प्रणाली हटाउने धृष्टता सत्तारुढ दलहरूले गरेर नेपाली जनताले त्यसको प्रतिरोध गर्ने चेतावनी समेत दिए। 

खनालले कांग्रेसमाथि सवार भएर प्रधानमन्त्री केपी ओलीले सत्ता चलाइरहेको भन्दै त्यसले एमाले भित्र ठूलो असन्तुष्टि बिजारोपण गरेको पनि बताए।

प्रतिक्रिया