अमेरिकामा हराइरहेकी ममताको पतिले नै हत्या गरी शव लुकाएको खुलासा
काठमाडौं । तीन सातादेखि अमेरिकामा हराइरहेकी ममता काफ्लेका पति नरेश भट्टले नै हत्या गरी शव लुकाएको खुलेको छ ।
भट्टले जुलाई ३० मा ममताको घरकै मुख्य बेडरुममा हत्या गरी शव लुकाएको देखिन आएको प्रहरीले त्यहाँको अदालतमा बुझाएको कागजपत्रबाट पुष्टि भएपछि काभ्रेको पनौतीस्थित परिवार शोकमा रहेको छ । परिवारका सदस्यले दोषिलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।
छोरीको हत्यापछि ममताकी आमा गीता काफ्ले र अन्य एक जना अमेरिका प्रस्थान गर्ने तयारीमा छन् । अमेरिकाको भर्जिनियामा नर्सका रुपमा कार्यरत ममता काफ्लेले गत साउन १५ गते अन्तिम पटक पनौतीस्थित माइतीघरमा आमासँग कुरा गरेकी थिइन् ।
परिवारका अनुसार केही समययता नरेश र ममताबीच बेमेल बढेको थियो । ममता सम्पर्कविहीन भएपछि ममताका देवरलाई फोन गर्दा उनले समेत दाजुभाउजुका बारेमा नसोध्न आग्रह गरेका थिए । ममता साउन १६ गते कार्यालयमा हाजिर नभएपछि सहकर्मीले अवस्था बुझिदिन प्रहरीलाई खबर गरेका थिए ।
सुरुमा प्रहरीमा रिपोर्ट गर्न नचाहेका नरेशले झन्डै एक सातापछि मात्र ममता हराएको जानकारी दिएका थिए ।
प्रतिक्रिया