रामेछापको पहिरोले घर बगाउँदा २ जनाको मृत्यु, ८ जना बेपत्ता
काठमाडौं । अविरल वर्षाको पछिको पहिरोले रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको लेखर्कमा ४ वटा घर बगाउँदा दुईजनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । पहिरोले स्थानीय उर्मिला पहरी, काले पहरी, भीमबहादुर थापा मगर र अर्का एक पहरी समुदायकै घर बगाएको हो ।
पुरिएका घरमा ११ जना मानिसहरु रहेको अनुमान गरिएको छ । जसमध्ये भीमबहादुरको घरमा तीन जना, उर्मिलाको घरमा चार जना, कालेको घरमा तीन जना र अर्को घरमा एकजना रहेको स्थानीयले बताएका छन ।
उनीहरू सबै सम्पर्क विहीन छन् । पहिरोमा पुरिएका मध्ये २ जनाको शव फेला परेको छ । ज्यान गुमाउनेमा भीमबहादुरकी छोरी चण्डिका थापा मगर र उनको करिब एक वर्षको नाबालक छोरा रहेका छन् । चण्डिका स्थानीय आधारभूत विद्यालयमा पठाउने शिक्षिका हुन् । उनको घरमा रहेकी एक बालिकाको भने जीवितै उद्धार गरिएको छ ।
रातभरी ठुलो वर्षासँगै बाढी र पहिरो आएको कारण राती घटनास्थलमा बाहिरका मानिस तथा प्रहरी पुग्न नसकेको र बिहान उज्यालो भएपछि मात्रै घटनास्थलमा पुगेको बताइएको छ । स्थानीय खोलाहरूमा आएको बाढीले दुईवटा पक्की पुलमा समेत क्षति पुर्याएको छ । बाढीले ढोइगाउँ खोला, छाङ खोला तथा घट्टे खोलामा रहेको पुलमा समेत क्षति पुर्याएको छ । बाढी पहिरोले पुर्याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया