कुर्स्क आक्रमणपछि रूस र युक्रेनबिच २३० बन्दी आदानप्रदान

एजेन्सी । रूसको कुर्स्क क्षेत्रमा किएभले आक्रमण गरेको दुई साता नबित्दै रूस र युक्रेनले शनिबार २३० जना युद्धबन्दीको आदानप्रदान गरेको घोषणा गरेका छन्। 

आदानप्रदानमा दुबैतर्फका बराबर युद्धबन्दी रिहा भएका मध्यस्थकर्ता संयुक्त अरब इमिरेट्स (युएई) ले जानकारी गराएको छ। कुर्स्कमा युक्रेनले आफ्नो आक्रमण बढाउँदै गर्दा र रूसले पूर्वी युक्रेनी शहरलक्षित आक्रमणको तयारी गरिरहेको समाचार आइरहेका समय यो आदानप्रदान भएको हो। 

किएभले गत अगष्ट ६ मा भएको कुस्र्क आक्रमणमा सयौं रूसी सैनिकलाई बन्धक बनाएको यसअघि बताएको थियो। मस्कोले उक्त आदानप्रदानको पुष्टि गर्दै कुर्स्कमा बन्दी बनाइएका ११५ सैनिकलाई फिर्ता गरिएको जनाएको छ।

रूसी रक्षा मन्त्रालयले भनेको छ, “वार्ता प्रक्रियाको परिणामस्वरुप कुर्स्क क्षेत्रमा बन्दी बनाइएका ११५ जना रूसी सैनिकलाई किएभ शासनको नियन्त्रणमा रहेको इलाकाबाट फिर्ता गरिएको छ । ती सैनिकहरू अहिले छिमेकी बेलारूसमा रहेका छन्, उनीहरूलाई ‘मनोवैज्ञानिक–चिकित्सा सहायता’ प्राप्त भइरहेको छ र चाँडै नै उनीहरूलाई स्वदेश ल्याइनेछ” ।

युएईले रूसी सङ्घ र गणतन्त्र युक्रेनबीच नयाँ बन्दी आदानप्रदानमा सफलतापूर्वक मध्यस्थता गरेको जनाएको छ । किएभ र मस्कोबीच दुई वर्षभन्दा लामो युद्ध जारी रहेपनि युद्धका क्रममा विपक्षीको नियन्त्रणमा गएका कैदीहरूको पटक पटक आदानप्रदान पनि हुँदै आएको समाचारमा उल्लेख छ । 

प्रतिक्रिया