मृत्यु भएका व्यक्तिहरुको नाममा पनि भत्ता

लाभग्राहीवाट नाम नहटाएर रकम भुक्तानी

socialwelfare

महोतरीका पाँच स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन । गत आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका बर्दिवास नगरपालिकाले ४० जना रामगोपालपुर नगरपालिकाले ७ जना सम्सी गाउपालिकाले २१ जना बलवा नगरपालिकाले १२ जना र औरही नगरपालिकाले १७ जना गरी कुल ९७ जना मृत्यु भएका व्यक्तिको खातामा रकम पठाएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।बर्दिवास नगरपालिकाले पाँच लाख अठाईस हजार सात सय आठ, सम्सी गाउपालिकाले पाँच लाख साठी हजार बलवा नगरपालिकाले दुई लाख सन्तावन हजार ४ सय ६४ औरही नगरपालिकाले २लाख ३६ हजार ६ सय ८८ र रामगोपालपुर नगरपालिकाले एक लाख २० हजार रुपैया गरि कुल १७ लाख २हजार ८ सय ६० रुपैया मृत्युपश्चात् भुक्तानी गरेको हो । सामाजिक सुरक्षा नियमावली २०७६ को नियम १३ मा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको मृत्यु भएमा उक्त लाभग्राहीलाई भत्ता पाउने सूचीबाट हटाई मृत्यु भएको दिनदेखि भत्ता दिन रोक्नुपर्ने व्यवस्था भएकामा स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई पनि रकम निकासा गरेकाले त्यस्तो कार्य सुधार गर्न सुझाव दिइएको छ । सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधिमा कुनै लाभग्राहीको मृत्यु भएमा, एकल महिला लाभग्राहीले विवाद गरेमा वा ऐन, नियमावली तथा कार्यविधि बमोजिम लगत कट्टा हुनुपर्ने लाभग्राहीको हकवाला वा प्रचलित कानूनबमोजिम सूचकले सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा त्यस्तो घटना भएको ३५ दिनभित्र घटना दर्ता गराउनुपर्दछ ।यसरी घटना दर्ता गर्दा लाभग्राही विवरण समेत अद्यावधिक गरी लगत कट्टा गर्नुपर्ने प्रावधान छ ।

प्रतिक्रिया