प्रतिफल देखिनेगरी कार्यसम्पादन गर्नुपर्नेमा जोड

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले विद्यामान समस्या समाधान गर्ने क्रममा प्रतिफल देखिने गरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । 

खानेपानी तथा ढल व्यवस्थापन विभागले राष्ट्रिय खानेपानी सरसफाइ तालिम केन्द्र नगरकोटमा आयोजना गरेको चालु आर्थिक वर्षको आयोजना कार्यान्वयनसम्बन्धी दुईदिने ‘खरिद क्लिनिक कार्यशाला गोष्ठी’ मा मन्त्री यादवले हरेक निकायले आफ्नो जिम्मेवारी नागरिकप्रति इमान्दार भएर निर्वाह गर्नुपर्ने बताए । यसरी काम गर्दा प्रतिफल देखिनुपर्ने उनको भनाइ छ ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मन्त्री यादवले केपी शर्मा ओलीले नेतृत्वको वर्तमान सरकार विद्यमान समस्या समाधान गर्ने लक्ष्यसाथ आगडि बढिरहेको भन्दै सबै सरकोर भएका निकायले पनि नागरिकमैत्री सेवा प्रवाह मुख्य लक्ष्य बनाउनुपर्ने बताए । 

मन्त्री यादवले विभागले आयोजना गरेको उक्त गोष्ठीबाट काम गर्ने सिलसिलामा थप ऊर्जा प्राप्त भएको भन्दै यहाँबाट सिकेका उपलब्धि कार्यसम्पादनमा देखिने बताए । 

मन्त्री यादवले विगतमा खुला दिसामुक्त क्षेत्रको घोषणा गरिएको भए पनि अझै सतप्रतिशत नपुगेकाले हामीले प्रतिफल देखिनेगरी काम गर्न जरुरी रहेको धारणा राखे  । नागरिक तथा विकासका काममा कुनै पनि ढिलासुस्ती नगर्न आग्रह गर्दै उनले जनगुनासो समाधानतर्फ सबै एकजुट भएर लाग्नुपर्ने बताए । 

कार्यक्रममा देशभरका २० वटा अस्थायी खानेपानी तथा सरसफाइ आयोजना कार्यालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी सङ्गठनलाई स्थायित्व दिन र लामो समयदेखि प्रक्रियामा रहेका कार्यलाई सम्पन्न गरिदिन माग गर्दै कर्मचारीद्वारा मन्त्री यादवलाई ज्ञापनपत्र पेस गरिएको थियो ।

प्रतिक्रिया