अमेरिकाले युक्रेनलाई थप सैन्य सहयोग उपलव्ध गराउने

एजेन्सी । अमेरिकाले युक्रेनलाई थप सैन्य सहयोग उपलव्ध गराउने घोषणा गरेको छ । 

राष्ट्रपति जो बाइडेनले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँगको वार्ताका क्रममा किभका लागि १२ करोड ५० लाख डलर मूल्यको थप सैन्य सहयोग उपलव्ध गराउने घोषणा गरेका हुन् । 

बाइडेनले युक्रेनलाई थप सैन्य सहायताको घोषणा गर्दा आफुलाई गर्व लागेको पनि बताएका छन् । सहयोगमा युक्रेनको महत्वपूर्ण पूर्वाधारको रक्षा गर्न हवाई रक्षा मिसाइल, ‘काउन्टर–ड्रोन’, ‘एन्टी–आर्मर’ मिसाइल,  युक्रेनी सैनिकको प्रतिरक्षाका लागि गोलाबारुद लगायत मोबाइल रकेट प्रणाली समावेश हुने जनाइएको छ ।

बाइडेनले अमेरिका युक्रेनी स्वतन्त्र जनताको साथमा रहेको पनि उल्लेख गरेका छन् । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी सैन्य सहायता घोषणाको प्रशंसा गर्दै युक्रेनमा विशेष गरी हवाई रक्षाको तत्काल आवश्यकता रहेको सामाजिक सञ्जाल एक्समार्फत बताएका छन् ।

 अमेरिकाले युक्रेनलाई सन् २०२२ फेब्रुअरीमा रूसले आक्रमण सुरु गरेदेखि ५५ अर्ब डलर भन्दा बढी हतियार, गोला बारुद र अन्य सुरक्षा सहायता प्रदान गरिसकेको छ ।

प्रतिक्रिया