भरतपुर आँखा अस्पतालको सेवा थप प्रभावकारी बनाइने

चितवन ।  नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको सेवा थप प्रभावकारी बनाइने भएको छ । 

नेपाल नेत्रज्योति सङ्घ चितवनको २४ औँ वार्षिक साधारणसभामा सङ्घका केन्द्रीय अध्यक्ष प्रा डा. चेतराज पन्तले सबै दृष्टिकोणले यस अस्पताललाई आँखा उपचारको केन्द्रको रुपमा विकास गर्न उपयुक्त हुने बताए  ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका डीन डा. आषेश ढुङ्गानाले प्रतिष्ठानले नेपाल नेत्रज्योति सङ्घसँगको सहकार्यमा काठमाडौं उपत्यका बाहिर तीन स्थानमा कार्यक्रम सञ्चालन गर्दै आएको बताए । विराटनगर, भैरहवा र चितवनमा कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिँदै उनले यसलाई अझै प्रभावकारी बनाउँदै लैजान आवश्यक भएको उनले उल्लेख गरे ।  

कार्यक्रममा भरतपुर महानगरपालिका–१० का अध्यक्ष परमेश्वर खनाल, नेपाल नेत्रज्योति सङ्घ नवलपुरका सभापति होमनाथ जैशी, सङ्घकी सदस्य मिना खरेललगायतले सङ्घको गतिविधिबारे जानकारी गराएका थिए । कार्यक्रममा सङ्घका सचिव केशवप्रसाद अधिकारीले वार्षिक प्रतिवेदन पेस गर्दै सङ्घद्वारा सञ्चालित अस्पताल र उपचार केन्द्रबाट गत एक वर्षमा तीन लाख ४९ हजार पाँच सय ४६ जनाको आँखाको उपचार गरेको जानकारी दिए ।  तीमध्ये ११ हजार दुई सय ५७ जनाको आँखाको शल्यक्रिया गरिएको थियो ।

प्रतिक्रिया