पशुपालनमा आत्म निर्भर हुने प्रयासः कृत्रिम गर्भाधानका लागि वीर्य सङ्कलन
कास्की । भैँसीमा पहिलोपटक उन्नत जातको नश्ल सुधारका लागि भारतबाट ल्याइएका मुर्रा राँगाबाट वीर्य सङ्कलन गरी वितरण सुरु भएको छ ।
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को भारत भ्रमणका क्रममा भारतले नेपाललाई उपहार स्वरुप प्रदान गरेको राँगामध्ये सात पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा ल्याइएको थियो ।
यहाँ रहेकामध्ये एक वटाबाट वीर्य सङ्कलन गरेर कृत्रिम गर्भाधानका लागि वितरण गरिएको उक्त कार्यालयका प्रमुख पशु विकास अधिकृत डा. जगदिश पाण्डेले जानकारी दिए । बाँकी राँगाबाट वीर्य सङ्कलनका लागि सिकाइको चरणमा रहेको अबको दुइदेखि तीन महिनामा सबैबाट सङ्कलन हुने डा.पाण्डेले बताए ।
प्रमुख पशु विकास अधिकृत पाण्डेले भने, “क्वारेन्टिन, उमेर, सिकाइलगायत सबै प्रक्रिया पूरा गरेर मात्र सिमेन सङ्कलन र गुणस्तर परीक्षणपछि मात्र वितरणको काम हुन्छ । अहिले एउटाबाट सङ्कलन भएको तीनदेखि पाँच हजार डोज वितरण गरेका छौँ । बाँकी राँगा ट्रेनिङमा नै छन् ।”
कार्यालयका अनुसार वर्षमा एउटा राँगाबाट २० हजारदेखी ३० हजार डोज सिमेन उत्पादन हुनेछ । हप्तामा सोमबार र बिहीबार वीर्य सङ्कलन हुँदै आएको छ । एक हप्तामा एउटाबाट चार सय डोज जति सङ्कलन हुने कार्यालयका सूचना अधिकारी एवं वरिष्ठ पशु विकास अधिकृत भरतराज गौतमले बताए ।
कृषि तथा पशुपंक्षीको क्षेत्रमा दुई देशबीचको सहकार्य अनुरुप नेपालको अनुरोधमा भारतले राँगा उपलव्ध गराएको थियो । भैँसीमा पहिलोपटक उन्नत जातको नश्ल सुधारका लागि भारतबाट १५ राँगा ल्याइएको थियो ।
पशु चिकित्सकका अनुसार उच्च नश्लका मुर्रा भैँसीहरूले रैथाने भैँसीभन्दा दोब्बर परिमाणमा दूध दिन्छन् । सरकारले यहाँको भैँसीमा नश्ल सुधार गर्न भारतबाट राँगा ल्याएको हो । नेपाल ल्याइएका मुर्रामध्ये सात वटा पोखरा, पाँच वटा लहान र तीनवटा नेपालगञ्जमा राखिएको छ ।
प्रतिक्रिया