राप्ती खानेपानी आयोजना सञ्चालनमा ढिलाइ

बाँके । नेपालगञ्जमा खानेपानी समस्या समाधान गर्न सुरु गरिएको राप्ती खानेपानी आयोजना सञ्चालनमा ढिलाइ भएको छ । 

आर्थिक वर्ष २०७४/७५ बाट आयोजना निर्माणको काम अगाडि बढाइएको थियो । आयोजना सुरु भएको सात वर्ष भए पनि कामले गति लिन सकेको छैन । अहिलेसम्म पहिलो चरणको काम सकेर दोस्रो चरणको काम सुरु गर्न लागिएको खानेपानी संस्थान नेपालगञ्जका प्रमुख हरिकुमार श्रेष्ठले बताए ।  

बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित राप्ती नदीबाट दैनिक दुई करोड ५० लाख लिटर पानी उत्पादन गर्ने लक्ष्यसहित खानेपानी संस्थानले उक्त आयोजना निर्माण कार्य सुरु गरेको थियो । कुल रु ३३ करोडको लागतमा सम्पन्न हुने भनिएको आयोजनाअन्तर्गत राप्ती नदीदेखि नेपालगञ्जसम्म ‘डिआइ’ पाइप बिछ्याइएको छ । 

कार्यालय प्रमुख श्रेष्ठले अहिले राप्ती नदी किनारको जग्गा विवादका कारण काम अगाडि बढ्न नसकेको जानकारी दिए ।  पानीको मुहान क्षेत्रमा व्यक्तिको जग्गा परेपछि जग्गा धनीले अदालतमा मुद्दा हालेको र करिब १५ कठ्ठा जति जमिन किन्नुपर्ने अवस्था देखिएको उनको भनाइ छ । खानेपानी आयोजनाको काम अहिलेसम्म करिब ८५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको संस्थानले जनाएको छ । पाइप लाइनका लागि कम्दीस्थित डुडुवा खोलामा ‘ट्रष्ट ब्रीज’ निर्माण गरिएको छ । 

हरेक वर्ष चैत, वैशाख र जेठमा नेपालगञ्जका अधिकांश ठाउँमा पानीको सतह घट्ने समस्या बल्झिदै आएको छ । उपमहानगरका अधिकांश स्थानमा पनि सर्वसाधारणले गाडेका हेण्डपम्प सुक्ने समस्या देखिएको संस्थानका सूचना अधिकारी बुद्धिप्रकाश केसीले बताए । 

उनका अनुसार आयोजना सम्पन्न भएपछि नेपालगञ्जवासी खानेपानी समस्याबाट मुक्त हुनेछन् । आयोजना अन्तर्गत राप्ती नदीमा ‘सम्प वयल’ बनाइएको छ । सम्प वयलमा हाल दुई थान पम्प जडान गरिएको छ । हाल दैनिक ७० लाख लिटर पानी उत्पादन गरिरहेको संस्थानसँग नेपालगञ्ज क्षेत्रमा अहिले करिब पाँच हजार उपभोक्ता आबद्ध छन् । राप्ती नदीबाट पानी आएपछि नेपालगञ्ज क्षेत्रमा खानेपानी पर्याप्त हुने सूचना अधिकारी केसीको भनाइ छ । 

रासस 
 

प्रतिक्रिया