धैर्यताले मृत्युलाई पनि छक्याउन सक्दो रहेछ

हरिविनोद अधिकारी  

कालको बारेमा काल महिमा भन्ने कवितामा कवि शिरोमणि लेखनाथ पौडेलले भन्नु भएको छ —आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो । थुप्रोमा उधिनी मिठो र नमिठो छानेर खाँदैन त्यो । अर्थात् मृत्यु हुने बेला टारेर टर्दैन । समयभन्दा पहिले पनि आउँदैन र आएपछि नलगी पनि सक्दैन । मृत्यु अपरिहार्य छ , यो मृत्युलोकमा एकपटक आएपछि जानुनै पर्छ । त्यतिमात्र होइन, स्वयं कालको पनि काललाई टार्न सक्दैन भन्ने छ । ब्रह्माजीको पनि समय तोकिएको छ । ब्रह्माण्डमा देखिएका तारा, सूर्य, चन्द्रमा , पृथ्वी तथा सबै ग्रह, देवी देवता सबैको एउटा समय तोकिएको हुन्छ भन्ने शास्त्रमा वर्णित छ । अर्थात् संसारमा नित्य केही छैन, अनित्य छ । जुनसुकै प्रकारको सृष्टि होस्, त्यो एकदिन नासिन्छ , नासिन्छ ।  

तर हामीले केही अपत्यारिला सत्य घटनाहरु पनि सुनेका छौँ । मर्‍यो भनेको मानिस ज्युँदो भेटिएको, मरेको भनेर गाड्न या जलाउन लगेको मानिस ब्युँझिएको, मरेको भनेर घाटमा छोडेर आएको मानिस बिस्तारै ब्युँतिएर हिंड्दै हिंड्दै घरसम्म आएको हामीले सुनेका छौँ । कति मरेको ठानेर चिकित्सकहरुले मृतक घोषणा गरेको मानिस पनि पछि बौरिएको सुनेका छौँ । यस्तै एउटा घटनालाई आधार बनाएर वाणशय्यामा सुतिरहेका भीष्म पितामहले उपदेश लिन आएका नाति तथा हस्तिनापुरका राजा युधिष्ठिरलाई कथामार्फत् मरेको भनेको मानिस ब्युँझिएको उदाहरण दिएका रहेछन् । त्यसो त पहिले अमृत सेवनले पनि मरेको मानिस बाँच्छ भन्ने थियो र त त्यसको नाम अमृत राखिएको रहेछ समुद्र मन्थनको बेलामा किनभने देवता र राक्षसका बिचमा बहस भएपछि समुद्र मन्थन गर्ने सर्त राखियो र त्यहाँबाट प्राप्त हुने सबै पदार्थहरुमा देवता र राक्षसहरुको समान भाग लगाउने कुरा आयो । त्यही बेलामा अमृत पनि प्राप्त भएको थियो जसले मरेको प्राणीलाई बचाउन सकिन्थ्यो । त्यसो त सावित्रीले सत्यवानलाई पनि यमराजसँग वरदान मागेर मरेको पतिलाई ब्युँझाइन् र पछि तिनै पतिबाट सन्तान जन्माइन् भन्ने पनि कथा छ । तर यो उदाहरणार्थ दिएको कथाले, धैर्यताले पनि मृत्यु भएको भनेर घाटमा जलाउन लगेको मानिस ब्युझिएको छ । महाभारतको शान्तिपर्वको अध्याय १५३मा यो कथा दिइएको छ । 

कथा यस्तो छ 

महाराज युधिष्ठिर सोध्छन्—पितामह, एकपटक मरेर पनि कोही व्यक्ति ज्युँदो भएको तपार्इँले सुनेको या देखेको थियो आफ्नो जीवनकालमा ? भीष्म पितामह भन्छन् — महाराज युधिष्ठिर, हो मैले त्यस्तो सुनेको थिएँ । पूर्वकालमा नैमिषारण्यमा एउटा अद्भूत घटना घटेको रहेछ । एकजना ब्राह्मणका एकमात्र बालक छोराको अल्पायुमा नै निधन भएछ । छोरो म¥यो भन्दै ती ब्राह्मण र उनका परिवारका मानिसहरु रुँदै कराउँदै मसान घाटमा लिएर गएछन् र अन्तिम विदाइका लागि झन रुन कराउन थालेछन् । त्यो सुनेपछि एउटा गिद्ध त्यहाँ आएछ र भनेछ—अब नरोऊ , जे हुनु थियो , भइहालेछ । यस बालकलाई यहीँ छोडेर तिमीहरु घर जाओ । व्यर्थ विलाप नगर , किनभने जन्मेपछि मर्नैपर्छ , अब विलाप गरेर हुने केही होइन, यो मसानमा स्याल, गिद्ध बसेका छन् ,तिनले तिमीहरुलाई पनि खान सक्छन् । सबैतिर नरकङ्काल मात्रै देखिन्छन्, त्यसैले रातभर यहाँ बसेर हुँदैन, अहिले नै गई हाल यहाँबाट । काल यस्तो हो कि एकपटक उसले आफ्नो कब्जामा कुनै प्राणीलाई कसेपछि छोड्दैन अर्थात् ब्युँझिने कुनै सम्भावना छैन । संसार यस्तै हो भनी सम्झेर घरतिर जाऊ सबैजना । यो मसान घाटमा रातभर कसरी बस्छौ ? घाम पनि अस्ताउन थाले, अब एकछिनपछि सर्बत्र अन्धकार हुन्छ र यहाँ भएका हिंस्रक जनावरहरुले तिमीहरुलाई पनि सिध्याउँछन् । 

यो सुनेपछि आफ्नो ज्यानको माया गर्दै अन्तिम श्रद्धाञ्जली दिएर परिवारजन हिँड्नै लागेछन् । त्यही बेलामा एउटा कालो स्याल मसान घाटको नजिकै रहेको आफ्नो बासस्थानबाट फुत्त निस्केर त्यहाँ आएछ र भनेछ—हे निर्दयी मानिसहरु, घाम पनि डुबेको छैन, तिमीहरु आफ्नो प्राणभन्दा प्यारो बच्चालाई यो मसान घाटमा एक्लै छोडेर जान लागेका ? हुनसक्छ, यो बच्चा लामो मुच्र्छामा परेको होस् र कुनै शुभघडीमा विस्तारै ब्युुँझियोस् । मैले त्यस्तो धेरैपटक देखेको छु । हे दयाशून्य पिता, यसरी मसान घाटमा एक्लै मुच्र्छित छोरालाई छोडेर कता जान लाग्यौ ? तिमीहरुले दिएको अन्तिम जलाञ्जलि त मायाको अन्तिम जलाञ्जलि हुनलागेको मैले देखेँ । त्यसैले रातभर यो बच्चालाई मसान घाटमा एक्लै नछोड है । पशुपक्षीहरुले पनि यसरी आफन्तको मृत शरीर एक्लै छोडेर हिँडेको मैले देखेको छैन जवकि उनीहरुलाई जीवन,मृत्यु र कालको कुनै चेतना छैन । 

यति भनेपछि हिँडिसकेका परिवारजनहरु फर्केर बालकको शव नजिकै आएर रुँदै बसे । फेरि त्यहाँ बसिरहेको गिद्धले भन्यो —हे मुर्ख बुद्धिहीन मनुवाहरु, त्यो फटाहा स्यालले भनेको पत्यायौ होइन त ? त्यो तुच्छ मन्दबुद्धिको स्यालले भनेको किन पत्याएको ? म यही मसान घाटमा बसेको पनि एक हजार वर्षभन्दा बढी भयो । आजसम्म मरेर घाटमा ल्याएका कोही पनि बाँचेको थाहा छैन । आजसम्म कुनै पुरुष, स्त्री तथा क्लीब मरेपछि बाँचेको मैले सुनेको पनि छैन, देखेको पनि छैन । यो बच्चाको शरीर काठजस्तै निस्तेज भइसकेको छ । अब तिमीहरुको मायाले यो ब्युँझिने होइन । झन मोक्षधर्मले भन्छ, यसरी निस्तेज शवलाई कुरेर बस्दा झन उसको याद ताजा हुन्छ र पीर मात्र लाग्छ । मेरो कुरा मान, घाम हुँदै टाढाको बाटो हिँड्नु छ, गई हाल तत्काल । यो शव तिमीहरु यहाँ बस्दैमा स्यालले भनेजस्तै जिउँदो हुने छैन । त्यो त स्याल हो, फटाहा छ । मानिसहरुलाई रनभुल्लमा पारेर बेबकुफ बनाउँछ । 

गिद्धको कुरा सुनेर हो जस्तै लाग्यो परिवारजनलाई । अनि उनीहरु हिंड्न लागे । त्यो देखेर नजिकै त्यो कुरा सुनेर बसेको स्याल नजिकै आयो र भन्न लाग्यो —हे परिवारजन, हेर त यो बच्चाको अनुहारमा कस्तो तेज छ, अनुहारको चमक गएकै छैन । यो पक्कै ब्युँझिन्छ । त्यो क्षूद्र गिद्धको कुरा सुनेर तिमीहरु छोडेर नजाऊ । यसलाई यहीँ मसानमा छोडेर जाँदैमा तिमीहरुको शोकमा कमी आउने पनि होइन, सम्झना कम हुने पनि होइन, बालक केहीबेरपछि ब्युँझियो भने तिमीहरुको एकमात्र सन्तान रहेछ, पछि पिण्डपानी यसैले दिनेछ । झन यसरी छोडेर जाँदा रातभरमा बाँच्थ्यो कि भन्ने परेर सन्ताप झन बढ्ने छ । मैले सुनेको थिएँ कि पहिले पनि राजर्षि श्वेतका छोरा मरेका थिए, तर महर्षि श्वेतले उसलाई बचाएका थिए । त्यसैले कोही सिद्ध, तपस्वी मुनि या देवता आएर बचाउन पनि सक्छन्, त्यसैले हृदयहीन भएर यसरी गिद्धको कुरामा आएर छोडेर नजाऊ । 

फेरि उनीहरु जान लाग्दै थिए तर फर्किएर त्यहीँ बालक सुताएको ठाउँमा आए । अनि गिद्धले जब उनीहरु फर्केको देख्यो, भन्न थाल्यो —धर्मराजको आज्ञा पालन गरेर सदाका लागि महानिद्रामा सुतेको बालक अब किन ब्युतिन्छ र ? जस्तोसुकै विद्वान, महर्षि , तपस्वी, धर्मात्मा या बुद्धिमान भए पनि एकदिन कालको मुखमा पस्नैपर्छ । एकपटक आत्मा कुनै शरीरबाट जब बाहिर निस्कन्छ, फेरि त्यही शरीरमा कुनै पनि हालतमा फर्कँदैन । हजारौ स्यालहरुको बलिदान गरे पनि गएको आत्मा फेरि यो बालकको शरीरमा फर्कने होइन । रोएर, कराएर, आँसु झारेर, लामो लामो सास फेर्दै शवतिर हेरेर यो बालक ब्युँझिने होइन । जाओ, तत्काल फर्केर जाओ, अब यसको माया मारेर जाओ । 

गिद्धको कुरा सुनेर पितासहितका आफन्तनजन फेरि हिँड्न लागे, त्यहीबेलामा स्यालले भन्यो —धिक्कार छ तिमीहरुलाई , यो गिद्धको कुरा सुनेर तिमीहरुले आफ्नो जीवित हुन सक्ने बच्चालाई जीउँदै मारेर  जाने भयौ । यो गिद्ध त महापापी छ । मेरो अन्तरात्माले भन्छ, यो बच्चा जीवित छ, केही समयका लागि मुच्र्छा परेको मात्र हो, ब्युँझिन्छ पक्कै पनि ब्युँझिन्छ । मलाई लाग्छ , तिमीहरुको सुखको बेला धेरै टाढा छैन, अब केही समयमा नै यो बालक जीवित हुनेछ ।

यसरी गिद्ध र स्यालको भुमरीमा ती परिवारजन यता उता गरी रहे । हिँड्न खोज्छन्, स्यालले हिँड्न दिँदैन, बच्चा बाँच्ने आशा देखाउँछ । बस्न खोज्छन् गिद्धले हृदयहीन भन्दै मरेको मान्छे कहिले पो बाँचेको छ र भन्दै घर जाऊ भन्छ । 
हे महाराज, वास्तवमा त्यहाँ के कूटनीति थियो भने दिउँसो भएमात्र गिद्धले बच्चालाई टपक्क टिपेर टाढा लाने र आफ्ना परिवारसँग बसेर बच्चाको मासु खान पाउँथ्यो , त्यसैले घामछँदै परिवारजन जाऊन् र त्यो शव लिएर जान पाइन्थ्यो भन्ने थियो , नत्र साँझ परेपछि त गुँडमा जानु पथ्र्यो र त्यो रातमा स्यालले बच्चालाई खान्थ्यो । स्यालको पनि आफ्नै दाउ थियो , घाम हुन्जेल परिवारजन बसून् र रात परेपछि डरले उनीहरु भाग्छन् अनि त्यो लास परिवारजन सँगै बसेर खाने ।  त्यसैले गिद्ध भन्थ्यो छिटै जाऊ किनभने त्यो लास टपक्क टिपेर लान आफन्तजनले दिने छैनन् ।  स्याल भन्थ्यो अहिले घाम हुँदा नजाऊ । स्यालका लागि रात परोस् भन्ने थियो र दिउँसभरि आफन्तजन बसून् तर रात परेपछि  मसान घाटको अवस्था देखेर आफैँ भाग्नेछन् । 

यसरी जाने , बस्ने क्रममा रात प¥यो । पार्वतीको प्रेरणाले शंकरजी त्यही बाटो कतै  जाँदै हुनुहुन्थ्यो । परिवारजनको रुवाबासी सुन्नुभयो, गिद्ध पनि रुखमा बसेर चर्तिकला हेर्दै थियो, स्याल पनि रात यतै बसून् भनेर सम्झाउँदै थियो । शंकर भगवानले सोध्नुभयो—के भएको हो ? किन रुवाबासी भइरहेको हो ? मृतक बच्चाका पिताले सबै कुरा भने र रातमा घाटमा बस्ने कि नबस्ने भन्ने समस्याका कुरा गर्दै गिद्ध र स्यालका कुरा पनि भने । रात त्यो बेलामा धेरै घर्केको थियो । शिवजीले पनि बच्चाका मातापितालाई सोध्नुभयो—के वरदान माग्नुहुन्छ , माग्नुहोस् भन्दा पिरमा रहेका मातापिताले आफ्नो बच्चा जिउँदो होस् भन्ने वरदान मागे । अनि शिवजीले हाँस्दै त्यो मृतक बच्चाको आयु सय वर्षको होस् भन्ने आशीर्वाद दिँदै तथास्तु भन्नुभयो र ती कूटनीतिकरुपमा आफ्नो भोकको स्वार्थका लागि झुठ कुराहरु पनि साँच्चै जस्तो पारेर परिवारजनलाई अल्मल्याउने गिद्ध र स्याललाई पनि उनीहरुको भोक मरोस् , पेट भरियोस् भन्ने आशीर्वाद दिनु भयो । 
यसरी बच्चा जीवित हुने वरदान पाएर परिवारजन खुसी भए भने पेटको भोकको ज्वाला  समाधान भएपछि ती गिद्ध र स्याल पनि खुसी हुँदै शिवजीलाई धन्यवाद दिए । 

हे महाराज युधिष्ठिर, ती मातापिता र परिवारजनले धैर्यताका साथ बच्चा जीवित हुने आशा गरेकाले र रातीसम्म शव नछोडी बसेकाले मृतक बच्चा बाँचेको मैले सुनेको थिएँ । त्यसैले धैर्यताले मृत्युलाई पनि जित्न सकिन्छ, परिस्थिति फरक तरिकाले सकारात्मक पनि हुनसक्छ भन्ने कुरा मैले त्यसबाट पनि जानेको हुँ । त्यसैले महाराज, धैर्यताका साथ आफ्नो काम गर्नू, भगवत्कृपाले त्यो अवश्य पूरा हुन्छ । राज्यमा पर्ने समस्याहरुको समाधानका लागि धैर्यताको आवश्यक पर्छ । 
 

प्रतिक्रिया