अमेरिकामा नेपाली नर्सको हत्या गरेर श्रीमानले शव लुकाएको आरोप

काठमाडौं । करिब एक महिनादेखि अमेरिकामा बेपत्ता नेपाली नर्स ममता काफ्लेका श्रीमान् नरेश भट्टविरुद्ध त्यहाँको प्रहरीले शव लुकाएको अभियोग लगाएको छ।

बिहीबार पक्राउ गरेर शुक्रबार प्रिन्स विलियम काउन्टी जुभेनाइल एण्ड डोमेस्टिक रिलेशन कोर्टमा पेश गरिएका भट्टविरुद्ध शव लुकाइएको अभियोग लगाइएको हो। उनको अर्को सुनुवाइ अगष्ट २४ तारिखमा हुने बताइएको छ । 

काभ्रेबाट अमेरिका गएकी नर्स ममता हराएको तीन हप्तापछि प्रहरीले मानासस पार्कका रहेको उनी बस्ने घरमा पुगेर अनुसन्धान गरेको थियो। फरेन्सिक भ्यानसहित पुगेको प्रहरीले हत्या भएको केही प्रमाण भेटिएको भन्दै नरेश भट्टलाई हत्कडी लगाएर लगेको हो। एक वर्षीया छोरीलाई प्रहरीले चाइल्ड केयर सेन्टरमा राखेको छ।

अमेरीकी समाचार संस्था सीएनएनका अनुसार अदालतमा प्रहरीले पेश गरेको कागजातमा नरेशमाथि हत्याको अभियोग लगाइएको हो। आरोपी नरेशले श्रीमती ममताको हत्या गरेको र घटना उनकै निवासमा भएको अदालतमा पेश गरेको कागजातमा उल्लेख छ। उनले हत्या गरेर शव बाहीर लगेको पनि सीएनएन ले जनाएको छ । 

उच्च डिजीटल र फोरेन्सिक प्रविधि प्रयोगवाट गरिएको अनुसन्धानमा केही रगतका टाटाहरु बाथरुम र कोठामा भेटिएको अनौपचारिक रुपमा सार्वजनिक विवरणले देखाएको छ । बेडरुममा समेत रगतका टाटाहरु भेटिएको जनाईएको छ । अदालतबाट आदेश लिएर घरमा प्रमाण खोजेको टोलीले ममताकै श्रीमानलाई पक्राउ गरे पनि अझै विस्तृत विवरण भने सार्वजनिक गरेको छैन।

२८ वर्षीया ममता अगस्ट २ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा हाजिर नभएपछि सहकर्मीले अवस्था बुझिदिनका लागि स्थानीय प्रहरीलाई खबर गरेका थिए । नरेशले भने अगस्ट ५ तारिखमा मात्र ममता हराएको खबर प्रहरीमा गरेका थिए  । 


 

प्रतिक्रिया