जर्मनीमा चक्कु प्रहारबाट तीन जनाको मृत्यु

एजेन्सी । जर्मनीको एक फेस्टिभल (उत्सव)मा चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ । 

पश्चिमी जर्मनीको सोलिङ्गेन शहरमा चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् । शुक्रबार साँझ शहरको केन्द्रमा एक उत्सवको समयमा आक्रमण भएको हो । आक्रमणकारी अझै फरार रहेको बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार एक व्यक्तिले अन्धाधुन्ध रूपमा छुरा प्रहार गरेका थिए। आक्रमणकारीको व्यापक रूपमा खोजी भइरहेको छ । प्रहरीको हेलिकप्टरहरू शहर माथि घुमिरहेको देखिएको छ। प्रहरीले छुरा प्रहार गर्ने सन्दिग्धको खोजीमा ४० वटा सवारी साधन परिचालन गरेको छ। सवारी साधनहरू विशेष टास्क फोर्सका अधिकारीहरूले कमान्ड गरिरहेका छन्। सडकहरू अवरुद्ध गरिएको छ भने अधिकारीहरूले स्थानीय बासिन्दाहरूलाई घर भित्रै बस्न भनेका छन् । 

आक्रमणको समयमा औद्योगिक शहर स्थापना भएको ६५० औँ वर्षगाँठ मनाइँदै थियो । घटनापछि उत्सवका कार्यक्रमहरू रद्द गरिएको समाचारमा उल्लेख गरीएको छ। सोलिङ्गेन उत्तर राइनल्याण्ड-वेस्टफालियाको एक शहर हो । यो स्टिल उद्योगको लागि प्रसिद्ध छ । यहाँ लगभग १ लाख ६० हजार बासिन्दाहरू छन्

प्रतिक्रिया